लिमा, असोज २४ गते । दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराधको लहरबिच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरुको कङ्ग्रेसले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ ।
सांसदले सरकार अपराध नियन्त्रण गर्न असफल भएको भन्दै बोलुआर्तेलाई हटाउनका लागि प्रस्तुत चारवटा अलग-अलग प्रस्तावलाई अनुमोदन गरेका थिए । एक सय ३० सदस्यीय एकसदनीय कङ्ग्रेसमा प्रत्येक प्रस्तावले आवश्यक न्यूनतम ५६ मतभन्दा बढी प्राप्त गरेपछि राष्ट्रपति पदमाथि बहस र महाभियोग प्रक्रियाको बाटो खुलेको थियो ।
त्यसपछि सांसदले राष्ट्रपति बोलुआर्तेलाई आफ्नो पक्षमा बचाउ गर्न मध्यरातअघि उपस्थित हुन औपचारिक अनुरोध गरे । अन्ततः १२४ सांसदले महाभियोगको पक्षमा मतदान गरे । यो निर्णय राजधानी लिमामा आयोजित एक लोकप्रिय कन्सर्टमा गोली चल्दा पाँच जना घाइते भएपछि आएको हो । सो घटनाले देशभर अपराध नियन्त्रणमा सरकारको अक्षमताप्रति जनआक्रोश तीव्र बनाएको थियो ।
यसअघि बोलुआर्तेलाई हटाउन गरिएका आठवटा प्रयास असफल भएका थिए, तर यस पटक करिब सबै दलले महाभियोगको पक्षमा समर्थन जनाए । संविधानअनुसार राष्ट्रपति हटाउन ८७ मत आवश्यक पर्छ-यही प्रावधान प्रयोग गरेर सन् २०२२ डिसेम्बरमा उहाँका पूर्ववर्तीलाई पनि संसद्ले पदच्युत गरेको थियो ।
राष्ट्रपति बोलुआर्ते हाल बढ्दो अपराध, विशेष गरी हत्या र जबरजस्ती असुलीको घटनाले त्रस्त देशमा नियन्त्रण स्थापित गर्न सङ्घर्षरत हुनुहुन्थ्यो । बुधबार मात्रै उहाँले अपराध वृद्धिको एक कारणका रूपमा अवैध आप्रवासनलाई दोष दिनुभएको थियो । उहाँले एक सैन्य समारोहमा भन्नुभएको थियो, “यो अपराध दशकौँदेखि बढ्दै आएको छ र अवैध आप्रवासनले यसलाई झनै बलियो बनाएको छ । विगतका सरकारले यस समस्यालाई नियन्त्रण गर्न सकेनन्, बरु सिमाना खुला गरेर अपराधीलाई देशभर पस्ने अनुमति दिए ।”
आधिकारिक तथ्याङ्कअनुसार यस वर्ष जनवरीदेखि अगस्टको मध्यसम्म छ हजार ४१ जनाको मृत्यु भएको छ । यो सन् २०१७ पछि सोही अवधिमा सबैभन्दा उच्च सङ्ख्या हो । त्यस्तै, जनवरीदेखि जुलाईसम्म १५ हजार ९८९ जबरजस्ती असुली (फिरौती) का उजुरी दर्ता भएका छन् । यो अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले बढी हो ।
बुधबार राति देशको लोकप्रिय कम्बिया सङ्गीत समूह ‘अगुआ मरिना’ को कन्सर्टमा भएको गोलीकाण्डपछि स्थिति झन् जटिल बनेको थियो । पाँच जना घाइते भएपछि सरकारमाथि जनआक्रोश चुलिएको र संसदले तत्काल कदम चाल्नुपर्ने माग उठेको थियो । प्रधानमन्त्री एडुआर्डो अरानाले बिहीबार संसदमा अपराध-केन्द्रित विशेष सुनुवाइका क्रममा राष्ट्रपतिलाई बचाउने प्रयास गर्नुभयो ।
तर उहाँको व्याख्याले सांसदलाई विश्वस्त पार्न सकेन । अरानाले भन्नुभयो । “संसदको चिन्ता महाभियोगको प्रस्ताव पास गरेर समाधान हुँदैन । हामी आफ्नो भूमिकामा अडिग छौँ र हामीलाई सुरु दिनदेखि नै थाहा थियो-हाम्रो पहिलो दिन नै अन्तिम दिन पनि हुन सक्छ ।”
राष्ट्रपति बोलुआर्तेलाई सत्ताबाट हटाउने यो कदमले पेरुमा राजनीतिक अस्थिरता फेरि एक पटक गहिरो बनाएको छ । अपराध नियन्त्रण, आप्रवासन नीति र शासन क्षमताप्रतिको विवादले देशलाई नयाँ अनिश्चिततामा धकेलेको टिप्पणी विश्लेषकले गरेका छन् । रासस/एपी