काठमाडौँ, असोज २४ गते । अल्जेरिया सन् २०२६ को फिफा विश्वकपमा छनोट भएको छ ।
अफ्रिकी महादेशको छनोटअन्तर्गत समूह ‘जी’ मा रहेको अल्जेरियाले बिहीबार राति भएको खेलमा घरेलु टोली सोमालियालाई ३–० गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।
एकपक्षीय खेलमा अल्जेरियालाई जिताउन मोहम्मद अमौराले सातौँ र ५७औँ मिनेटमा दुई तथा रियाद महारेजले १९औँ मिनेटमा एक गोल गर्नुभयो ।
जितसँगै नौ खेलबाट २२ अङ्क बनाएको अल्जेरिया समूहको शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको युगान्डाको १८ अङ्क छ । समूहमा अब हरेक टोलीले एक एक खेल खेल्न बाँकी छ ।
यससँगै अल्जेरियाले पाँचौँ पटक विश्वकप यात्रा तय गरेको छ । यसअघि अल्जेरियाले सन् १९८२, १९८६, २०१० र २०१४ मा विश्वकप खेलेको थियो । अल्जेरिया सन् २०२६ को विश्वकपमा छनोट हुने चौथो अफ्रिकन तथा समग्रमा २०औँ देश हो ।
यसअघि अफ्रिकाबाट मोरोक्को र ट्युनिसिया, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा एसिया प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरिसकेको छ ।
आयोजक देशको हिसाबले अमेरिका, क्यानडा र मेक्सिकोले सोझै विश्वकपमा स्थान बनाएका छन् । पहिलो पटक ४८ टोलीको सहभागिता रहने सन् २०२६ को फिफा विश्वकप अगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म हुनेछ । एजेन्सी