• २४ असोज २०८२, शुक्रबार

लङ्गुरबुर्जा खेलाउने पाँचजना पक्राउ

blog

बरामद भएको लङ्गुरबुर्जा । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, असोज २४ गते । मकवानपुर प्रहरीले लङ्गुरबुर्जा खेलाउने पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार राति हेटौँडा उपमहानगरपालिका –८, कमानेस्थित नमुना चोकबाट लङ्गुरबुर्जा खेलाउने पाँच जनालाई पक्राउ गरिएको हो । 

हेटौँडा उपमहानगरपालिका –८ नमुना चोक बस्ने २७ वर्षीय रामकृष्ण मैनाली, मकवानपुरगढी गाउँपालिका –४ घर भई हाल हेटौँडा उपमहानगरपालिका –५ बस्ने ४२ वर्षीय दीपक अर्याल, हेटौँडा उपमहानगरपालिका –१७ घर भई हाल हेटौँडा उपमहानगरपालिका –१५ बस्ने २६ वर्षीय विजय लामा, हेटौँडा उपमहानगरपालिका–९ घर भई हाल हेटौँडा उपमहानगरपालिका –८ बस्ने ३९ वर्षीय सुरेन्द्र अधिकारी र बागमती गाउँपालिका–८ घर भई हाल हेटौँडा उपमहानगरपालिका –८ बस्ने ३१  वर्षीय अर्जुन तामाङलाई पक्राउ गरिएको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लङ्गुरबुर्जाको गट्टी र खाल एक सेटसहित तीन लाख नौसय पैंसठ्ठी रुपियाँ बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।