राजु लामिछाने
रुकुमपश्चिम, असोज २४ गते । रुकुमपश्चिमस्थित जिल्ला कारागारबाट भागेका ८८ जना कैदीबन्दी मध्ये ६९ जना पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनको फाइदा उठाएर जेलबाट भागेका उनीहरु कोही आफैँ सम्पर्कमा आएका हुन् भने अधिकांशलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार अझैसम्म १९ जना कैदीबन्दी फरार छन् । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असोज २० गतेसम्म फरार कैदीबन्दीहरुलाई आफैँ कारागारमा आउन समय दिएको थियो । पछिल्लो पटक सम्पर्कमा आउनको लागि दिइएको समयमा पाँच जना मात्र कैदीबन्दी आफैँ सम्पर्कमा आएका हुन् ।
प्रशासनले सम्पर्कमा आउन दिएको असोज १२ गतेदेखि २० गतेसम्मको समयमा पाँच जना मात्र कैदीबन्दी आफैँ सम्पर्कमा आएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । अझैसम्म १९ जना कैदीबन्दीहरु बाहिर नै रहेको र खोजी कार्य तिब्र नै पारिएको उहाँले बताउनुभयो ।
जिल्ला कारागारमा कर्तव्य ज्यान, जबरजस्ती करणी, लागु औषध, ज्यान मार्ने उद्योग र हातहतियार सम्बन्धि कसुरमा कैद भुक्तान गरिरहेका ८८ जना कैदीबन्दीरु जेन–जी आन्दोलनको फाइदा उठाउँदै भागेका थिए ।
जिल्ला प्रशासन र प्रहरीले पटक पटक सूचनामार्फत सम्पर्कमा आउन र सम्पर्कमा आए थप कारबाही नहुने भन्दै अपिल गरेका थिए । तोकिएको समयमा नआए कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।
जिर्ण अवस्थाको रुकुम कारागारमा क्षमता भन्दा छ गुणा बढी कैदीबन्दी रहेका थिए । काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा जेनजी आन्दोलन र कारागारबाट कैदीबन्दीहरु भाग्ने क्रम बढेको बेला रुकुम कारागारबाट कैदीबन्दीहरु भागेका थिए । उनीहरुले कारागार कार्यालयको मुल ढोका, कुर्सी बेन्चहरु तोडफोड गरेर कारागारबाट निस्किएका थिए ।