• २४ असोज २०८२, शुक्रबार

बाढी प्रभावित परिवारलाई राहत वितरण

blog

बर्दिबासलगायत बाढी प्रभावित क्षेत्रमा स्थानीय तह तथा सहयोगी सङ्घ संस्थाको सहकार्यमा राहत वितरण । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, असोज २४ गते । महोत्तरीमा बाढी र डुबानबाट प्रभावितलाई धमाधम राहत वितरण गर्ने काम भइरहेको छ । गत असोज १८ गतेदेखि ३ सम्म परेको अविरल वर्षाबाट प्रभावित बर्दिबासको विभिन्न वडाका ५० तथा औरही नगरपालिकाको ६१ गरि १११ परिवारको घरदैलोमै पुगेर राहत वितरण गरिएको छ । 

जलेश्वर नगरपालिकामा पनि सयभन्दा बढी परिवारलाई राहत वितरण भइरहेको छ । यी स्थानीयतहहरु रातु, भवसी र जंगाहा खोलाको बाढी र डुबानबाट पीडित थिए । 

बर्दिबासका पीडित परिवारको घरदैलोमै पुगेर नगरप्रमुख प्रह्लाद क्षेत्री, उपप्रमुख तारादेवी महतो, सम्बद्ध वडाध्यक्ष तथा सहयोगी संस्थाका पदाधिकारीहरुले अवस्थाबारे जानकारी लिनुका साथै राहत वितरण गर्नुभएको थियो ।  

वितरण गरिएका राहत सामग्रीमा आवासका लागि ‘सेल्टर किट’, भान्साका लागि भाँडाकुँडा सेट, स्वच्छता सामग्री (हाइजिन किट), झुल, तथा गर्भवती र सुत्केरी महिलाहरूका लागि मर्यादा सामग्री (डिग्निटी किट) समावेश छन् ।

सहयोगी संस्था सेभ द चिल्ड्रेनले जिल्ला विपद् व्यवस्थापन समिति, सम्बन्धित पालिकाहरू तथा स्थानीय साझेदार संस्थाहरु रतौली युवा क्लब, सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको सहकार्यमा सामग्री वितरण गरेको हो ।

त्यस्तै बर्दिबास नगरपालिका, रेडक्रस, रोटरी क्लब बर्दिबासले प्रति परिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर खानेतेल, एक कार्टुन चाउचाउ, नुन, बाल्टिन, साबुन लगाएतका सामग्री वितरण गरेको छ । सबे राहत सामग्री स्थानीय तहको एकद्वार प्रणालीमार्फत वितरण गरिएको जनाइएको छ । 

जिल्लाको दक्षिणी भेगमा रातु खोलाको बाढीबाट प्रभावित जलेश्वर नगरपालिकाका १ र ८ नं वडाका ११२ परिवारलाई राहत वितरणको भइरहेको सेभ द चिल्ड्रेनका सञ्चार संयोजक झम्केश्वर ओझाले बताउनुभयो । 

जलेश्वर क्षेत्रमा रतौली युवा क्लबमार्फत राहत वितरण भइरहेको छ । जिल्ला प्रहरीका अनुसार बाढी र डुबानबाट महोत्तरीका स्थानीय तहहरु बर्दिबास, औरही, भंगाहा सीतापुर, बलवा, महोत्तरी, रामगोपालपुर, मटिहानी र समसीका २२८ परिवारका ८२६ जना विस्थापित भएका छन् । यसबिच बाढीमा डुबेर जलेश्वर ६ का एक ११ वर्षीय बालकको मृत्यु भएको छ ।