ठाकुरप्रसाद आचार्य
म्याग्दी, असोज २४ गते । चार हजार एकसय ९० मिटर उचाइमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र मौरिस हर्जोग पदमार्गमा सञ्चार सुविधा नहुँदा पर्यटकलाई समस्या हुने गरेको छ । मानव वस्तीदेखि टाढा रहेको यस क्षेत्रमा सञ्चार र विद्युत् सुविधा छैन ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरको भ्रमणमा पुगेका पर्यटकहरुले घरपरिवार र आफन्तसँगको सम्पर्क गर्न नपाउँदा समस्या हुने गरेको हो ।
आधार शिविर जानका लागि दुईहजार आठसय ८३ मिटर उचाइमा रहेको हुमखोलादेखि मौरिस हर्जोग पदमार्ग सुरु हुन्छ । हुमखोलादेखि माथि कुनै पनि सञ्चार सुविधा नहुँदा पर्यटकलाई समस्या हुने गरेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तथा स्थानीय पर्यटनकर्मी तेज गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पदमार्ग र आधार शिविरमा सञ्चार र विद्युत् सुविधा छैन । आधार शिविर पुगेका पर्यटकहरु हुमखोलासम्म नआउँदा सञ्चार सुविधाबाट विच्छेद हुनुपर्दछ । पर्यटकले आफन्त र परिवारसँग सम्पर्क गर्न नपाउँदा परिवारले प्रहरीलाई खबर गरेका समेत घटनाहरु छन् ।’’ काठमाडाैंदेखि पदयात्रामा निस्केका आफन्तहरु दुई दिनसम्म सम्पर्कमा नआएपछि हालै मात्र प्रहरीमा खबर गरेको घटना उहाँले सुनाउनुभयो ।
हिमाल आरोहणका लागि आधार शिविरमा बसेका आरोही र पदयात्राका लागि पुगेका पर्यटकलाई सञ्चार सेवा नहुँदा समस्यामा परेका पर्यटकको उद्धारमा समेत कठिनाइ हुने गरेको उहाँले बताउनुभयो।
सञ्चार सुविधाका लागि सम्बन्धित निकायमा पहल गरे पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको नारच्याङका पर्यटनकर्मी समेत रहनुभएका मौरिस हर्जोग पदमार्गका अभियन्ता गुरुङले बताउनुभयो। रिले स्टेसन राखेर सञ्चार सुविधाको वैकल्पिक व्यवस्थापन गर्न सकिने बारेमा छलफल भए पनि सम्बन्धित निकायले चासो नदिँदा सफल नभएको उहाँको भनाइ छ ।
पछिल्लो समय मौरिस हर्जोग पदमार्ग र अधार शिविर आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भएकाले इन्टरनेटसहितको सञ्चार सुविधा आवश्यक भएको पदयात्रामा जानुभएका बेनीका विशाल खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘दुईदिन सम्म परिवार र आफन्तसँगको सम्पर्क विच्छेद हुँदा परिवारमा चिन्ता बढ्ने रहेछ ।’’
दसैँ तिहार बिदाको अवसर पारेर अहिले दैनिक करिब दुईसयभन्दा बढी पर्यटक मौरिस हर्जोग पदमार्ग हुँदै आधार शिविर पु्ग्ने गरेको पर्यटनकर्मी गुरुङले बताउनुभयो । पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्ट सञ्चालकहरुलाई पर्यटकको बसाइ व्यवस्थापन गर्न समस्या भएको उहाँले बताउनुभयो ।
पदमार्ग तथा आधार शिविरका टेन्ट र आश्रय स्थलको भवनमा एक दिनमा ५० जनासम्म बास बस्ने क्षमता छ । दैनिक एक सय ५० देखि दुई सयभन्दा बढी पर्यटक आउन थालेपछि आवास व्यवस्थापनमा कठिनाइ भएको पर्यटनकर्मी गुरुङले बताउनुभयो ।
पदमार्ग सुरु हुने हुमखोलामा होटल,फुतफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा स्थानीयबासीले गत वैशाख महिनादेखि अस्थायी संरचना बनाएर पाहुनालाई खाना, खाजा खुवाउने र वासको व्यवस्था मिलाएका छन् ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पैदलयात्राबाट आधार शिविर पुगिन्छ । आधार शिविर जाने पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा पछिल्लो समय अन्नपूर्ण आधार शिविर पदयात्रीका लागि आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।