ठाकुरप्रसाद आचार्य
म्याग्दी, असोज २४ गते । केही दिनयता खोप्रालेकमा आकाश खुलेको छ । वरपर टलक्क टल्किएका हिमालहरुको सुन्दर दृश्य देखिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित पर्यटकीय स्थल खोप्रालेकबाट शुक्रबार बिहान देखिएको हिमशृङ्खलाको सुन्दर दृश्य हो ।
हिमालको मनमोहक दृश्यसँगै खोप्रालेक पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु रमाइरहेका छन् । पर्यटकीय सिजन सुरु भएसँगै तीनहजार ६ सय साठी मिटर उचाइमा रहेको खोप्रालेकमा पर्यटकहरु पुग्न थालेका छन् । दैनिक ४० देखि ५० जनासम्म पर्यटक खोप्रालेक हुँदै खयरतालसम्म पुग्ने गरेका छन् ।
यहाँबाट धौलागिरी, चुरेन, मानापाथी निलगिरी र अन्नपूर्ण लगायत हिमशृङ्खलाको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । साथै प्राकृतिक सौन्दर्यले पर्यटकलाई थप लोभ्याउने गर्दछ । मौसममा सुधार आएसँगै दसैँतिहार बिदाको सदुपयोग गर्न आन्तरिक पर्यटकहरु खोप्रालेकको भ्रमणमा आउन थालेको खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले बताउनुभयो । खोप्रा पुग्नका लागि पाउद्वार गाउँदेखि रमणीय सामुदायिक पदमार्गको विकास गरिएको छ । अधिकांश पर्यटकहरु यही पदमार्ग भएर खोप्रालेक पुग्ने गरेका छन् ।
पाउद्वार गाउँदेखि सामुदायिक पदमार्गको पदयात्रामा सुन्दर गाउँबस्तीको अवलोकन गर्दै ७ घण्टाको पदयात्रापछि खोप्रालेक पुग्न सकिन्छ । पर्यटकको बसोवासका लागि पाउद्वार पर्यटन सहकारीद्वारा सञ्चालित सामुदायिक लज छ । लजमा सुविधासम्पन्न ३० वटा कोठा छन् ।
मौसममा आएको सुधारसँगै आन्तरिक पर्यटकहरु खोप्रामा आउन थालेको सामुदायिक लजका कर्मचारी तिलिजाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हिजो आज मौसम निकै राम्रो तरिकाले खुलेको छ । खोप्रालेक आएका पर्यटकहरुले हिमालको सुन्दर दृश्य अवलोकन गर्न पाउँदा खुसी भएर फर्किने गरेका छन् ।’’ खोप्रालेक आएका पर्यटकहरु एकदिनको ट्रेक गरेर चारहजार ६ सय ३० मिटरको उचाइमा रहेको खयरलेक पुग्ने गरेको उहाँले बताउनुभयो ।
कसरी पुग्ने खोप्रालेक ?
कास्कीको धम्पुस–घान्द्रुक–दोबाटो–बहेली–डाँडाखर्क हुँदै पाँच दिनमा खोप्रालेक पुग्न सकिन्छ । यसका साथै म्याग्दीको सदरमुकाम बेनी– बाँसखर्क–नांगी–महरेडाँडा, फूलबारी, स्वात –डाँडाखर्क हुँदै चार दिनमा खोप्रालेक पुग्न सकिन्छ ।
अर्कोतर्फ म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङतातोपानी– पाउँद्वार हुँदै खोप्रा दुई दिनमा पुग्न सकिन्छ भने अर्को रुट कास्कीको नयाँ पुल–उल्लेरी–घोडेपानी हुँदै डाँडाखर्कबाट खोप्रा जान सकिन्छ । खोप्रालेक पुगेका पर्यटकहरु शिखरको पाउद्वार हुँदै भुरुङ तातापोनी पुगेर तातोपानी कुण्ड पुग्ने गर्दछन् ।
अर्को बाटो खोप्राबाट नारच्याङको लेकगाउँ–बेसी गाउँ हुँदै तातोपानी झर्न सकिन्छ भने केही पर्यटक घोडेपानी वा महरे डाँडाको अवलोकन गर्दै नागी–लेस्पार–पूर्णगाउँ हुँदै कास्कीको नयाँ पुल झर्ने गर्दछन् ।