• २४ असोज २०८२, शुक्रबार

खोलामा डुबेर युवकको मृत्यु

blog

जनार्जन खत्री
सर्लाही, असोज २४ गते ।
सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको बलरा नगरपालिकामा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । बलरा नगरपालिका–१०, सुदामा गाउँका २८ वर्षीय विवेक भन्ने हरिशङ्कर चौधरीको मनुष्मारा खोलामा डुबेर मृत्यु भएको हो ।

चौधरी शुक्रबार बिहान सुदामा ब्यारेजभन्दा ३० मिटर पूर्वतर्फ खोलाको पानीमा डुबिरहेको अवस्थामा मृत फेला जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् डिएसपी सरोज राईले जानकारी दिनुभयो ।

डिएसपी राईका अनुसार चौधरी बिहीबार बेलुकादेखि बेपत्ता हुनुभएको थियो । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवातर्फ पठाएको छ ।

एक साताअघिको भारी वर्षापछि जिल्लाका विभिन्न खोला, खोल्सा र नहमा अझै पानी जमिरहेकाले आउजाउ गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । चार दिनअघि पर्सा गाउँपालिका–१, हर्दी खोलामा बेवारिसे महिला मृत अवस्थामा फेला पर्नुभएको थियो भने तीन दिनअघि मलङ्गवा नगरपालिका–५, भाडसरमा लखन्देही खोलाको बाँध नजिक पौडी खेल्न जाँदा सोही ठाउँका १८ वर्षीय ओम ठाकुरको डुबेर मृत्यु भएको थियो ।