• २४ असोज २०८२, शुक्रबार

नौ वर्षमा पनि बनेन चिस्यानगृह

blog

पर्वत,  असोज २४ गते ।  मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत नौ वर्षदेखि अधुरो छ । 

आर्थिक वर्ष ०७३/७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको हो । बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यानगृह निर्माण थालिएको थियो । सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो । 

स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको चिस्यानगृह एक तला बनेपछि अलपत्र अधुरो छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा चिस्यानगृह निर्माण गर्ने सम्झौता भएर एकतल्ला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना जीर्ण  छ ।

आफ्नै घर आँगनमा चिस्यानकेन्द्र बनेका देख्दा उत्साहित किसान त्यसले पूर्णता नपाउँदा खिन्न छन् । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको सात आना एक दाम जग्गा रु १३ लाख ५० हजार मा खरिद गर्ने गरी तमसुक गरिएको थियो । 

चिस्यानगृह निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार सुरुको वर्ष रु ५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो, तर रु २४ लाखभन्दा आएन । “क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो । रु २४ लाख विनियोजन भएपछि काम सरु गरिहाल्यौँ”, उहाँले भन्नुभयो, “इस्टिमेटअनुसार बजेट नआएपछि काम अघि बढ्न नसकेको हो ।

योजनाअनुसार ५० टन क्षमताको दुई तले चिस्यान केन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य रहेको थियो । मोदी गाउँपालिका–२ देउपुरका तत्कालीन वडाध्यक्ष विकास तिमिल्सिनाले चिस्यानकेन्द्र निर्माणका लागि गाउँपालिका, प्रदेश र केन्द्रसम्म अनुरोध गरेको भए पनि सुनुवाइ नभएको बताउनुभयो । जग्गा व्यवस्थापनको लागि वडाबाट रु १५ लाख विनियोजन पनि गरेको भए पनि जग्गा खरिदमा सहमति हुन नसक्दा काम अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । 

मोदीको देउपुर सुन्तलाको पकेट क्षेत्र हो । यहाँ बर्सेनि रु चार करोडभन्दा बढीको सुन्तला उत्पादन हुन्छ । क्याङ र लेस्पार आलु उत्पादनको लागि उर्बर भूमि हो । यहाँको आलु र सागसब्जीको बीउ स्थानीय बजारलगायत सदरमुकाम कुस्मा र पोखरासम्म बिक्री हुने गरेको छ । रासस