धीरेन्द्रप्रसाद साह
राजविराज, असोज २४ गते । सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा गएराति बिजुली सर्ट भएर लागेको भीषण आगलागीमा छ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीमा एक व्यक्ति घाइते भएका छन् भने करिब ५० लाख ३० हजार रुपियाँ बराबरको धनमाल तथा चौपायाको क्षति भएको छ ।
बिहीबार राति करिब १० बजे ललित यादवको घरमा जडान गरिएको बिजुली मिटरको तार सर्ट भई आगलागी भएको थियो । आगो तीव्र गतिमा फैलिँदै ललित यादवका छोराहरू र छोरीको घरमा समेत पुगेपछि घरहरु जलेर नष्ट भएका छन् ।
आगलागी नियन्त्रण गर्न स्थानीयवासी, इलाका प्रहरी कार्यालय रुपनीका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र कञ्चनरुप नगरपालिकाको दमकलले सहयोग गरेका थिए । आगो नियन्त्रणमा ल्याउन करिब दुई घण्टा लागेको र शुक्रबार बिहान पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा २८ वर्षीय श्यामसुन्दर यादवको ढाड र हातमा करिब २५ प्रतिशत आगोले पोलेर घाइते भएका छन् । उनी हाल मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचाररत छन् र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
आगलागीमा ६५ वर्षीय ललित यादवको बाँसको टाटी र टिनको छानो भएको दुईवटा घर जलेको छ । साथै एक तोला सुन, १० तोला चाँदी, ५० हजार नगद, अन्नपात, लत्ता कपडा र भाँडा बर्तन जलेका छन् । भैँसी एक र गाई एक घाइते भएका छन् भने दुईवटा खसी र एकवटा बाख्रा जलेर मरेका छन् । यसरी ललित यादवको करिब सात लाख ५५ हजार बराबरको क्षति भएको बरख गण भलुवाही राजविराजका प्रमुख सेनानी सोवितबहादुर चन्दले जानकारी दिनुभयो ।
त्यस्तै, ललितका छोरा ३० वर्षीय सुनिल यादवको दुईवटा घर, तीन तोला सुन, ५० तोला चाँदी, तीन लाख नगद, अन्नपात, लत्ता कपडा, भाँडा बर्तन र परालको कुन्यु जलेको छ । भैँसी एक थान घाइते भएको छ र उहाँको कुल करिब १६ लाख ४५ हजार क्षति भएको बरख गण भलुवाही राजविराजले जनाएको छ ।
ललितको अर्को २८ वर्षीय छोरा श्यामसुन्दर यादवको दुईवटा घर, तीन तोला सुन, ५० तोला चाँदी, दुई लाख नगद, अन्नपात, लत्ता कपडा र भैँसी एक थान जलेर घाइते हुँदा करिब. १५ लाख ६५ हजार बराबरको क्षति भएको पीडितले बताउनुभएको छ ।
यस्तै, ललितकी छोरी २५ वर्षीया पार्वतीदेवी यादव (हाल माइतीघरमा बस्दै आएकी) की तीन तोला सुन, एक सय तोला चाँदी, ७५ हजार नगद र लत्ता कपडा जल्दा करिब १० लाख ६५ हजार बराबरको क्षति भएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार आगलागीका कारण विद्युत् सर्ट सर्किट रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।