• २४ असोज २०८२, शुक्रबार

नवलपरासीका लागि मलको कोटा थप

blog

कृषि सामग्री कम्पनीको परासी कार्यालय । तस्बिर : पुरुषोत्तम सुबेदी

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, २४ असोज ।
पश्चिम नवलपरासी, जिल्लामा देखिएको रासायनिक मलको अभावलाई सम्बोधन गर्न कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीको पहलमा मलको कोटा वृद्धि भएको छ । ज्ञान केन्द्रले ठोस आधार प्रस्तुत गरेपछि लुम्बिनी प्रदेश सरकारले नवलपरासीका लागि मलको कोटा थप गरेको हो ।

कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेका अनुसार, वर्षेबाली धान खेतीका लागि अभाव भएको युरिया मलको कोटामा थप ८३ मेट्रिक टन (मे.ट.) युरिया मल जिल्लाका लागि प्राप्त भएको छ । यो थप मल जिल्लाका सातवटै पालिकालाई वितरण गरिएको छ ।

नवलपरासीमा ८३ मे.ट. युरिया र ४८७ मे.ट. डीएपी थप गरेको हो । हिउँदेबालीलाई आवश्यक डी.ए.पी. मलको पनि ठूलो परिमाणमा कोटा थप भएको छ । डा. चौबेले थप ४८७.३८ मे.ट. डीएपी मल जिल्लामा आएको जानकारी दिनुभयो । जुन साल्ट ट्रेडिङ्ग कर्पोरेसन मार्फत उपलब्ध हुनेछ ।

मलखाद्यको कोटा कम हुनु र वितरण प्रणाली कमजोर हुनु किसानका लागि मुख्य समस्या थियो । मल वितरणको जटिलता हटाउन हालै ‘रासायनिक मल वितरण कार्यविधि २०८२’ लागू गरिएको छ ।

कृषि सामग्री कम्पनीको परासी कार्यालय प्रमुख तारा प्रसाद खनालले वितरण प्रणालीमा कमजोरी देखिएको स्वीकार गर्नुभयो । नयाँ कार्यविधि अनुसार तराईका जिल्लाले अब १० दिनभित्र र पहाडी जिल्लाले १५ दिनभित्र मल लगिसक्नुपर्ने प्रावधान छ । साथै ढुवानी सहजीकरणमा स्थानीय सरकारले लगानी गर्न सक्ने छुट समेत दिइएको छ । नयाँ कार्यविधि र थपिएको कोटाले जिल्लाका किसानलाई मलखाद्यको पहुँचमा सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।