• २४ असोज २०८२, शुक्रबार

सुनको लोभमा बालिकाको हत्या

blog

गुलरिया समाचारदाता 

गुलरिया (बर्दिया), असोज २४ गते । गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीय बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गेरुवा गाउँपालिका–५, झबही बस्ने २१ वर्षीय समीर तिरुवा सुनारलाई पक्राउ गरेको हो । 

पक्राउ परेका समीर तिरुवाले मृतक बालिका देउवालाई उनले लगाएको गहनाको लोभमा हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्वीकारेको र अरू थप अनुसन्धान गर्दासमेत भेटिएको बताउनुभयो । उहाँका अनुसार आरोपी तिरुवा गेरुवा र राजापुरका विभिन्न सुन पसलमा मृतक बालिकाको सुन बेच्न पुगेका थिए । सो ठाउँमा सुन नबिकेपछि कैलालीसम्म सुन बेच्न पुगेको अनुसन्धानबाट खुलेको छ ।  

प्रहरीका अनुसार एक्लै साइकल डो¥याएर हिँडेकी एन्जललाई सुन लगाएको देखेपछि समीरले समातेर झाडीमा लगि घाँटी थिचेर मारेका थिए । मारिसकेपछि शव छिट्टै सडोस भनेर नाङ्गै बनाएर बालुवामा पुरेको तिरुवाले बताएका छन् । मृत्यु भइसकेपछि बलात्कारको प्रयास गरेको समेत स्वीकारेको प्रहरीले जनाएको छ ।  

प्रहरी उपरीक्षक पौडेलले बालिकाको मृत्यु कसरी भएको र बलात्कार भए नभएको पोस्टमार्टम रिपोर्टपछि मात्र खुलासा हुने बताउनुभयो । हत्या आरोपी तिरुवालाई बिहीबारै बर्दिया आदालतमा उपस्थित गराई पाँच दिनको म्याद थपी अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानका क्रममा शङ्कास्पद छ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो ।