• २४ असोज २०८२, शुक्रबार

पहिरोका कारण घर जोखिममा

blog

तामाकोसीको जोगीटारमा गएको पहिरो । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 
दोलखा, असोज २४ गते ।
गत केही दिनदेखिको अविरल वर्षा रोकिएसँगै घरभन्दा तल सुखा पहिरो जाँदा दोलखाको तामाकोसी गाउँपालिका–१ जोगीटार काली दहका दुई घर अति जोखिममा परेका छन् ।  

वडा नम्बर १ को करिब हजार मिटर तलको काली दहमा गएको पहिरोले तान्दै गर्दा ती घरहरु जोखिममा परेका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुखा पहिरोबाट दुई वटा घर पूर्ण जोखिममा परेका छन् । जोखिममा परेका दुई घरका ११ जना परिवारलाई जनप्रतिनिधि र स्थानीयले सुरक्षित स्थानमा सारेका छन् । उनीहरुको करिब ३३ रोपनी खेतीयोग्य जमिन पनि पूर्ण क्षति भएको छ ।

वडाध्यक्ष वसन्त थापाका अनुसार गत १० वर्षदेखि नै पहिरोको सुरुवात भएको हो । वर्षाको छ महिना पहिरो जाने र हिउँदमा सहज हुने गरेकोमा यो वर्षको अविरल वर्षाले वितण्डा मचाएको छ । परिहरो रोकथाम गर्न धेरै जटिल रहेकाले दुई परिवारलाई अन्यत्र सारिएको छ । घर उच्च जोखिमा परेका शारदा बस्नेतलाईल छिमेकी ढालबहादर माझीको घरमा र हर्कबहादुर माझीलाई लक्ष्मी माझीको घरमा सारिएको छ ।