• २४ असोज २०८२, शुक्रबार

फर्सी, काँक्रो र घिरौँलामा अधिक विषादी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज २४ गते । देशकै ठुलो तरकारी बजार कालीमाटीमा भित्रिएका हरिया तरकारी (हरियो फर्सी, काक्रो र घिरौँला) अत्यधिक विषादीको मात्रा भेटिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले बजारमा भित्रिएका तरकारीको नमुना परीक्षण गर्दा ती तरकारीमा विषादीको मात्रा अधिक देखिएको हो । 

समितिका अनुसार बिहीबार कालीमाटीमा रहेको प्रयोगशालाले विभिन्न ठाउँबाट आएका १५ प्रकारका तरकारीको नमुना लिएर परीक्षण गरेकामा तीन वटा नमुनामा अगार्नोफस्फेट नामको विषादी अधिक प्रयोग भएको पाइएको छ । 

काठमाडौँबाट आएको काँक्रोमा अगार्नोफस्फेट रोकावट दरको मात्रा ५२.९२१ प्रतिशत, धादिङबाट आएको घिरौँलामा अगार्नोफस्फेट रोकावट दरको मात्रा ६५.०३० प्रतिशत र मकवानपुरबाट आएको हरियो फर्सीमा अगार्नोफस्फेट रोकावट दरको मात्रा ४५.५८९ प्रतिशत पाइएको समितिले जनाएको छ । 

विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ । 

सरकारी स्वामित्वको देशकै सबैभन्दा ठुलो तरकारी बजार कालीमाटी फलफूल बजारमा नियमित रूपमा हुने परीक्षणका क्रममा पछिल्लो समयमा सबैभन्दा बढी मौसमी तरकारीमा विषादीको मात्रा पाइएको छ ।