• २४ असोज २०८२, शुक्रबार

राष्ट्रसंघका उच्च प्रतिनिधिसँग मन्त्री खरेलको भेटवार्ता

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग संयुक्त राष्ट्रसंघका उच्च पदस्थ प्रतिनिधिहरू भेटवार्ता गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबार संयुक्त राष्ट्रसंघका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा सम्पन्न सो भेटवार्तामा संयुक्त राष्ट्रसंघ नेपालका आवासीय संयोजक हन्ना सिङ्गर, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुका, र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) का प्रतिनिधि जाको डु ट्युइट सहभागी हुनुहुन्थ्यो ।

मन्त्री खरेलले प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल सरकारप्रति संयुक्त राष्ट्रसंघले गर्दैआएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले बनेको सरकार सबै पक्ष, क्षेत्र र वर्गको अनुमोदन प्राप्त सरकार हो । आगामी फागुन २१ गते तोकिएको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक गृहकार्य सुरु भइसकेको छ । आगामी निर्वाचन सफल बनाउन संयुक्त राष्ट्र संघलगायत विकास साझेदारहरूको सकारात्मक सहयोगको अपेक्षा सरकारले गरेको छ ।”

मन्त्री खरेलले विपद् व्यवस्थापनमा संयुक्त राष्ट्रसंघका निकायहरूले पु¥याएको सहयोगको उच्च प्रशंसा गर्नुभयो । साथै, डिजिटल रूपान्तरण, मिडिया साक्षरता प्रवर्धन र सुशासन सुधारका क्षेत्रमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबिच सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको छ । 

त्यसअवसरमा संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हन्ना सिङ्गरले हालै नेपाल सरकारले विपद् व्यवस्थापनमा देखाएको तत्परता र नेतृत्वको प्रशंसा गर्दै भन्नुभयो –“नेपाल सरकारले संकटको समयमा देखाएको संयम र समन्वय प्रशंसनीय छ । हामी तोकिएकै समयमा हुने निर्वाचनलाई निष्पक्ष र सफल बनाउन आफ्ना तर्फबाट सकारात्मक सहयोग गर्न प्रतिबद्ध छौं ।”

यूएनडीपीका आवासीय प्रतिनिधि क्योको योकोसुकाले पनि नेपाल सरकारसँगको सहकार्यलाई अझ सुदृढ बनाउने इच्छा व्यक्त गर्दै भन्नुभयो –“डिजिटल रूपान्तरण र मिडिया साक्षरताको क्षेत्रमा नेपालसँगको साझेदारीलाई अझ सशक्त बनाउन हामी इच्छुक छौं।”

यूनेस्कोका प्रतिनिधि जाको डु ट्युइटले सञ्चार र शिक्षा क्षेत्रलाई सुदृढ बनाउन नेपालसँगको सहकार्य निरन्तर जारी रहने बताउनुभयो । भेटवार्ता आपसी समझदारी, साझेदारी र सहयोगको वातावरणमा सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।