• २३ असोज २०८२, बिहिबार

वर्षाले धान बालीमा क्षति

blog

रामग्राममा डुबानमा परेको धानबाली । तस्बिरः विकास अधिकारी

विकास अधिकारी

पश्चिम नवलपरासी, असोज २३ गते । वर्षाका कारण पश्चिम नवलपरासीमा झन्डै पाँच सय बिघाको धान खेतीमा क्षति पुगेको छ । पसाउने बेलामा आएको पानीले धान खेतीमा क्षति गरेको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ । वर्षाका कारण पसाउन लागेको धानसहित धेरै दिन डुबानमा पर्दा तटीय क्षेत्रका खेतको धान नष्ट भएको हो । 

सरावल गाउँपालिकाको वडा ५, ६ र ७ मा रहेको भूजहवा, कुर्थावल र गडौरीमा झन्डै तीन सय बढी बिघामा लगाएको धानखेती नष्ट भएको छ । त्यसैगरी पाल्हीनन्दन गाउँपालिका-१, शङ्करपुरमा लगाइएको एक सय ५० बिघाको धान खेती नष्ट भएको ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले जानकारी दिनुभयो । 

रामग्राम, सुस्ता लगायतका स्थानीय तहमा पनि धानबाली डुबानमा पर्दा आंशिक क्षति भएको छ । ‘अन्य क्षेत्रमा लगाइएको धान खेतीमा खासै असर पारेन । दुई पालिकाका केही क्षेत्रमा दाना पसाउने बेलामा आएको पानीले क्षति गरेको छ’ चौबेले भन्नुभयो । 

हरेक वर्ष भारतसँग सीमा जोडिएका पालिकाका खेतीमा वर्षाले क्षति गर्नेगरेको छ । भारततर्फ सहज रूपमा पानी निकासको व्यवस्था नहुँदा पानी खेतमा धेरै दिन जम्मा हुने भएकाले पाक्न लागेको धान बालिमा क्षति गरेको छ । गतवर्ष ९१ हजार ५०२ मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष सामान्य बाहेक धान खेतीको उत्पादन नघट्ने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ ।

यसवर्ष समयमा पानी र पर्याप्त नभए पनि मल पाइएकाले जिल्लाको धान हुने सबै क्षेत्रमा रोपाइँ भएको छ । नापी विभागको तथ्याङ्कअनुसार जिल्लाको कुल खेतीयोग्य जमिन ३९ हजार ४०७ हेक्टर रहेको छ । २० हजार ४८७ हेक्टरमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।