प्रतीक इच्छुक शर्मा
सल्यान, असोज २३ गते । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शारदा नगरपालिका–९, ज्वालापुरबाट थापाचौरतर्फ विवाहका लागि जन्ती लैजाँदै गरेको लु.प्र.०२–००१ ज.००२१ नम्बरको जिप दिउँसो अनियन्त्रित भई करिब २०० मिटर तल खसेको छ । जिपमा सवार ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । प्रहरी र स्थानीयवासीको सहकार्यमा उद्धार गरिएका घाइतेहरूलाई जिल्ला अस्पताल सल्यान लगेर उपचार सुरु गरिएको छ ।
प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार गुमी कवर (६० वर्ष, शारदा नपा–१०) – टाउको, छाती र ढाडमा गम्भीर चोट रहेको छ । त्यस्तै, शोभा कवर (१४ वर्ष) पेट, कम्मर र दायाँ खुट्टामा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ ।
मध्यम घाइतेमा हरिकला कवर (१४ वर्ष) को दाहिने खुट्टा भाँचिएको, कमला गिरी (२० वर्ष, दुलही) नाक, पेट र ढाडमा चोट लागेको छ । यस्तै, सामान्य घाइतेहरूमा प्रविन कवर (१८ वर्ष) बायाँ हातमा चोट, रेनुका कवर (१४ वर्ष) दायाँ हातमा भित्री चोट, हेमराज कवर (१७ वर्ष) ढाडमा चोट, कुमारी बुढाथोकी (२६ वर्ष) छातीमा चोट रहेको छ ।
त्यस्तै, प्रमिला गिरी (४२ वर्ष) टाउको र घाँटीमा चोट छ । चेतराम गिरी (२४ वर्ष, दुलाहा)– पेटमा चोट लागेको छ । बिमला गिरी (१५ वर्ष) बायाँ खुट्टामा चोट, रुपराल गिरी (३३ वर्ष) – टाउकोमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डा. हेमबहादुर केसीले दुर्घटनाको कारण सवारी अनियन्त्रित भई सडकबाट तल खस्नुभएको अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार चालक हरिबहादुर बुढा फरार रहेको र उनको खोजी जारी रहेको छ ।