सुडान, असोज २३ गते । सुडानको मस्जिदमा अर्धसैनिक द्रुत समर्थन बलले गरेको आक्रमणमा १३ जनाको मृत्यु भएको विस्थापित परिवार रहेको सहर एल-फासेरमा शरण लिइरहेका दुई प्रत्यक्षदर्शीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
नाम न छाप्ने सर्तमा उनीहरूले मस्जिदमा आक्रमण उत्तरबाट भएको र आरएसएफले अबु शोक विस्थापन शिविरलाई कब्जा गरेको तथा सुडानी सेनाले सहरलाई नियन्त्रणमा लिने प्रयास गरी रहेको बताएका छन् । गोलाबारी रोकिए पछि भग्नावशेष मुनिबाट १३ जनाको शव निकालेको उनीहरूले बताएका छन् ।
आक्रमणबाट बचेका एक जना व्यक्तिले बताएअनुसार आक्रमणकारी घरमा प्रवेश गर्दा मस्जिद भित्र ७० परिवार भएको जनाउँदै एक्कासी गोलीको वर्षा हुँदा १३ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको र मस्जिदको केही भागमा क्षति भएको बताएका छन् । सन् २०२३ अप्रिल मा सेनासँग युद्ध सुरु भएदेखि एल-फासेरमाथि आरएसएफले गरेको यो सबैभन्दा ठुलो आक्रमण भएको जनाइएको छ ।
गत वर्षको मे महिनादेखि आरएसएफद्वारा घेराबन्दी गरिएको उत्तरी डार्फर राज्यको राजधानी अझै पनि सेनाको नियन्त्रणमा रहेको अन्तिम प्रमुख सहर हो, यद्यपि सेना र यसका सहयोगीद्वारा नियन्त्रित क्षेत्र क्रमशः सङ्कुचित भएको छ । लामो समय देखि आरएसएफले लगभग दैनिक तोप र ड्रोन आक्रमण गरी सहर वरपरका विस्थापीत शिविरमाथि कब्जा गर्दा, सयौंको ज्यान गएको छ भने बाँचेका मानिसलाई जबरजस्ती निर्वासन गरिरहेको छ ।
लाखौं विस्थापित मध्ये मङ्गलबार–बुधबारको बिचमा, सहरको एक एल-फासेर अस्पतालमा २० जनाको मृत्यु भएको जनाइएको छ । गत महिना मस्जिदमा भएको एउटै ड्रोन आक्रमणमा कम्तीमा ७५ जनाको मृत्यु भएको थियो । सुडानमा युद्धले लाखौंलाई विस्थापित गरेको छ भने लगभग दुई करोड ५० लाखलाई चरम भोकमरीमा धकेलेको छ, जसलाई संयुक्त राष्ट्रसङ्घले विश्वको सबैभन्दा ठुलो भोकमरी र विस्थापन सङ्कट क्षेत्र भनेको छ ।
भोकमरीले दशौँ हजार मानिसको ज्यान लिएको छ, यद्देपी त्यहाँ कुनै आधिकारिक सङ्ख्या भने छैन, अधिकांश घाइते अस्पतालमा पुग्न असमर्थ छन् र बचेका व्यक्ति पनि आफ्ना परिवारका मृतकको दाहसंस्कार गर्न बाध्य छन् । एल-फासेरमा आरएसएफको घेराबन्दीले सहरमा ठुलो भोकमरी निम्त्याएको छ, जहाँ मानिस महिनौंसम्म भोकमरी सहन बाध्य छन् ।
यदि सहर अर्धसैनिक बलको हातमा गयो भने, आरएसएफ सम्पूर्ण डार्फर क्षेत्रको नियन्त्रणमा हुने छ, जहाँ उनीहरूले प्रतिद्वन्द्वी प्रशासन स्थापना गर्न खोजेका छन् । सेनाले देशको उत्तर, मध्य र पूर्व भाग कब्जा गरी सकेको छ । रासस/एएफपी