चेन्नाई, असोज २३ गते । भारतीय प्रहरीले २१ बालबालिकाको मृत्युमा संलग्न औषधी कम्पनीका मालिकलाई पक्राउ गरेको छ । अधिकारीका अनुसार चेन्नाईस्थित आफ्नै घरमा पक्राउ परेका ७५ वर्षीय जी रङ्गनाथनलाई गैरकानूनी हत्या र लागु औषधमा मिलावट गरेको आरोप लगाइएको छ ।
मध्य प्रदेश राज्यमा गत महिना कम उमेरका बालबालिकाको घातक विषाक्त पदार्थले दूषित खोकी सिरप सेवनपछि मृत्यु भएको थियो । सो सिरप दक्षिणी भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा युनिटमा ‘कोल्ड्रिफ’ ब्रान्ड नामले उत्पादन गरिएको थियो । भारतीय स्वास्थ्य मन्त्रालयको परीक्षणले सिरपमा डाइथाइलिन ग्लाइकोल (डिइजी) भएको पुष्टि गरेको छ, जुन औद्योगिक सम्मिश्रण हो र थोरै मात्रामा सेवन गरे पनि घातक हुन सक्छ ।
यस प्रकरणपछि मध्य प्रदेश र अन्य राज्यले उक्त सिरपमा प्रतिबन्ध लगाएका छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि भारतीय अधिकारीलाई सो सिरप अन्य देशमा निर्यात गरिएको छ कि छैन भनेर स्पष्टीकरण मागेको छ । यो घटना भारतमा मात्रै सीमित छैन । सन् २०२२ मा भारतबाट आयात गरिएको दूषित सिरप खाएपछि गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएको थियो ।
उज्बेकिस्तानमा पनि २०२२/२०२३ बिचमा भारतमा उत्पादित दूषित सिरप सेवन गर्दा ६८ बालबालिकाको मृत्यु भएको थियो । घटनाले भारतको औषधी उद्योगको प्रतिष्ठामा गम्भीर धक्का पुगेको छ र विश्वभरका स्वास्थ्य अधिकारीलाई सतर्क बनाएको छ । रासस/एएफपी