अमरराज नहर्की
तनहुँ, असोज २३ गते । तनहुँको व्यास नगरपालिका–१, भादगाउँ, दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा प्रशासनिक भवन निर्माण कार्य सुरु हुने भएको छ ।
विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरको एक करोड रुपियाँ आर्थिक अनुदान सहायता र क्याम्पसको लागत सहभागिता १२ लाख ५६ हजार सात सय ७० रुपियाँ गरी कुल लागत एक करोड १२ लाख ५६ हजार ९७० रुपियाँमा भवन निर्माण गरिने भएको हो ।
भवन निर्माण सम्बन्धी सम्झौता बिहीबार क्याम्पसमा सम्पन्न भएको हो । सम्झौता कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको उपस्थितिमा बोलपत्र मूल्याङ्कन समितिका संयोजक क्याप्टेन सोमबहादुर थापा र निर्माण कम्पनी पञ्च–शिभु जेभी, भक्तपुरका निर्देशक सन्तुलन देशमरूबिच दुई पक्षीय सम्झौता पत्र आदानप्रदान गरिएको छ ।
सम्झौता पत्रमा क्याम्पसका तर्फबाट प्रमुख महाप्रसाद हडखले र निर्माण कम्पनीका तर्फबाट निर्देशक सन्तुलन देशमरूले हस्ताक्षर गर्नुभएको छ । क्याम्पस प्रशासनका अनुसार भवन निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्ने तयारी भइरहेको छ ।