बिष्णुप्रसाद पोखरेल
दमक, असोज २३ गते । ‘हुनेले दिउँ, नहुनेले लिउँ’ भन्ने मूल नारासहित झापाको दमक वडा ६ ले आफ्नो वडामा कपडा बैँक सुरु गरेको छ । यसअघि विभिन्न सामाजिक सङ्घसंस्थाहरूले दमकमा यस किसिमको कार्यक्रम गर्दै आएपनि यसपटक वडा आफैँले यो कार्यक्रम सञ्चालन गरेको हो ।
वडाध्यक्ष टेकबहादुर कार्कीका अनुसार यसलाई चाडपर्वको समयमा मात्र नभएर नियमित रूपमा सञ्चालन गर्ने गरी कपडा बैँक सुरु गरिएको हो । सकेसम्म नयाँ कपडाहरू ल्याउन प्रोत्साहित गरिने उहाँले बताउनुभएको छ ।
स्वेच्छिक रूपमा जो कोहीले पनि कपडा बैँकमा ल्याएर कपडा राख्न सक्ने र आवश्यक परेकाले आएर लैजान सक्ने उहाँले बताउनुभयो । यसले विपन्नहरूलाई टेवा पुग्ने अपेक्षा लिइएको थापाले जानकारी दिनुभयो ।
फाटेका तथा फोहोर कपडा बैँकमा ल्याउन नपाइने उहाँले बताउनुभयो । जस्तो पनि कपडा ल्याएर राख्न पाइँदैन, उहाँले भन्नुभयो । प्रयोग गर्न तथा लगाउन योग्य कपडा हुनुपर्याे भन्ने उहाँको भनाइ छ ।