काठमाडौँ, असोज २३ गते । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ ।
नेपाली क्रिकेट खेलाडीहरुको तस्बिर अङ्कित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य सचिव टङ्कलाल घिसिङले बिहीबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाउनुभयो ।
विश्व हुलाक दिवस २०२५ का अवसरमा आइसीसी पुरुष विश्वकप र आइसीसी महिला यु–१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरुको तस्बिर अङ्कित हुलाक टिकट सार्वजनिक गरिएको हो ।
खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ ।
विभागले २०८१ चैत १७ गतेको निर्णय अनुसार १० रुपियाँ दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो । नेपालले सन् २०२४ को जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इन्डिजमा भएको नवौँ संस्करणको विश्वकपमा सहभागी भएको थियो ।
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो । यस्तै महिला क्रिकेटको उमेरसमूह अन्तर्गत यु–१९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो ।