सिरहा, असोज २३ गते । यहाँको धनगढीमाई नगरपालिका-९ स्थित जिरोमाइल नजिकै आज बिहान गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नं को यात्रुबाहक बसबाट खसेर लहान नगरपालिका-१ निवासी २१ वर्षीय सहचालक पवनकुमार यादव गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश पालका अनुसार बसको पछाडिको चक्काले किचिएर गम्भीर घाइते भएका सहचालक यादवलाई तत्कालै उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याइएकाे थियो । तर मध्यान्ह १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिनुभयो । रासस