सलिम मियाँ
बिजुवार, असोज २३ गते । प्युठानको गौमुखी गाउँपालिका–५ खुङ्गले सरसफाइमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई पुरस्कार दिने भएको छ ।
खुङ्गले निरन्तर १ सय २१ हप्तादेखि हरेक शनिबार श्रमदानमार्फत सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । वडाध्यक्ष बरुणध्वज मल्लका अनुसार गोरेटो र मोटरबाटो, घरआँगन, टोल–बस्ती तथा सार्वजनिक स्थलको सरसफाइमा सक्रिय सहभागीलाई प्रतियोगितामार्फत छनोट गरी पुरस्कार प्रदान गरिने छ ।
तिहारदेखि सरसफाइको अनुगमन सुरु गरिने र फागु पूर्णिमाको अवसरमा पुरस्कार वितरण गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो हुनेलाई आठ हजार, दोस्रोलाई छ हजार, तेस्रोलाई चार हजार र सान्त्वना हुनेलाई दुई हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिने छ।
नगद पुरस्कारका लागि रकम वडा अध्यक्ष मल्लको पारिश्रमिकबाट र र सम्मान पत्र वडा कार्यालयको तर्फबाट प्रदान गरिने बताइएको छ। सहयोगीहरुबाट प्राप्त हुने सहयोग रकमबाट पुरस्कार राशी वृद्धि गर्दै लैजाने उहाँले उल्लेख गर्नुभयो ।
यो कार्यक्रम गौमुखी भ्रमण वर्ष २०८२ लाई लक्षित गरी आयोजना गरिएको हो। खुङ्गमा हरेक वर्ष फागु पूर्णिमामा रूपा गुफा साहसिक दौड तथा विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुने गर्दछ।