काठमाडौँ, असोज २३ गते। सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा खोप अभियान सञ्चालन गर्न लागेको हो।
परिवारकल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बिहिबार ‘हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान’ अन्तक्रिया कार्यक्रम गर्दै हैजा महामारी भएका र अन्य स्थानमा रोग फैलनबाट रोक्न खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो।
उहाँका अनुसार खोप अभियान पर्सामा असोज २६ गतेदेखि र बाराका ६ स्थानीय तहमा असोज २९ गतेदेखि सुरु गर्ने कार्यक्रम तय भएको छ।
पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा र बारा जिल्लाका छ स्थानीय तहका एक वर्षभन्दा माथिका सबै व्यक्तिलाई खोप दिइने छ।
हैजा विरुद्धको खोप कस्तो प्रकारको खोप हो ?
डा. विवेकका अनुसार हैजा रोग विरुद्धको खोप मुखबाट खुवाइन्छ । प्रतिकार्य स्वरुप् संचालन गर्न खोप अभियानमा एक पटक दिए पुग्छ ।
यो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणणित हुनुका साथै नेपालको नियामक निकाय औषधी व्यवस्था विभागबाट अनुमति प्राप्त खोप भएकाले यो खोप सुरक्षित र प्रभावकारी रहेकोले ढुक्क भएका खान आग्रह गर्नुभयो ।
यो खोप एक वर्षभन्दा माथिका सबै उमेर समुहका व्यक्तीलाई दिइने छ । गर्भवती र स्तनपान गराइरहेकालाई पनि यो खोप दिन मिल्ने उहाँको भनाइ छ । यो खोप खाइसकेपछि पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने बान्ता हुने, ज्वरो आउने, टाउको, मांसपेशी दुख्ने, खाना मन नलाग्ने, थकाई लाग्ने, घाँटी दुख्ने, मुखमा घाउ आउने, जिउ चिलाउने जस्ता सामान्य लक्षण देखिने हुँदा नआतिन उहाँको अनुरोध छ । यस्ता लक्षण आफै निको हुँदै जान्छन् ।
सरकारले यसअघि पनि काठमाडौं उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो ।
हैजा विरुद्धको खोप खाइसकेपछि पनि हैजाको रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, स्वस्छ खाना खाने, शैचालयमा मात्र दिसा पिसाब गर्ने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता बानी अपनाउन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले आग्रह गर्नुभयो ।
गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को मुरली टोलबाट फैलिएको हैजा रोग हालसम्म पर्सा र बारा जिल्लाका एक हजार ६८५ बिरामीमा हैजा पृष्टि भइसकेको छ।