• २३ असोज २०८२, बिहिबार

तलब नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी

blog

कटहरिया नगरपालिका वडा ८ को वडा कार्यालय ।

प्रवीणकुमार शर्मा 

रौतहट, असोज २३ गते । रौतहटको कटहरिया नगरपालिकाका वडा कार्यालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले वडा कार्यालयमा तालाबन्दी गर्दै वडाबाट प्रदान हुने सेवा प्रवाह बन्द गरेका छन् ।

लामो समयदेखि बक्यौता तलब तथा सेवा सुविधा नपाएको भन्दै आफूहरू आन्दोलनमा उत्रिएको वडा १ मा कार्यरत करारका कर्मचारी सहायक कम्प्युटर अपरेटर मुकेश कुशवाहाले बताउनुभयो । तलब भत्ताको लागि नगरपालिका कार्यालयलाइ मङ्गलबार ज्ञापन पत्र बुझाए पनि सुनुवाई नभएको भन्दै वडा १ देखि ९ का सवै वडा कार्यालयहरूमा तालाबन्दी गरिएको उहाँले जानकारी दिनुभयो ।

वडा कार्यालय बन्द हुँदा सेवा प्रवाह प्रभावित भएको छ । कटहरिया वडा ८ का करारका कर्मचारी मुकुन्दनारायण यादवले सबै वडाका कर्मचारीहरूले सामूहिक रूपमा तालाबन्दी गर्दै कार्यालयको साँचो आ–आफ्नो जिम्मामा राखेको जानकारी दिनुभयो । नगरपालिकाले पटक–पटक आश्वासन मात्र दिँदै आएको तर कहिल्यै आफूहरूको माग सम्बोधन नभएकोले २०८२ भदौ महिना सम्मको बक्यौता तलब भत्ता भुक्तानी नहुन्जेल सम्म वडा कार्यालय पूर्णरूपमा बन्द रहने उहाँले बताउनुभयो ।

कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले दसैँमा समेत वडा कार्यालयमा कार्यरत कर्मचारीलाई तलब भत्ता नखुवाएको गुनासो वडा ५ का वडा अध्यक्ष सर्फलाल प्रसादले पोख्नुभयो ।

नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत तत्काल करारका कर्मचारीलाई तलब भत्ता खुवाएर वडा कार्यालय सुचारु गर्न तत्परता देखाउन आवश्यक रहेको उहाँले बताउनु भयो । दुई वर्षको तलब भत्ता बक्यौता रहेको अवस्थामा कर्मचारीसँग काम गराउने अवस्था नरहेको उहाँले बताउनुभयो ।

कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाशले तिहार अघि करार कर्मचारीको समस्या समाधान गरिने जानकारी दिनुभयो । सरकारले देश भरिका प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला समन्वय अधिकारिलाइ कार्यालयमा बस्न निर्देशन दिए पनि कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली कार्यालयमा उपस्थित नहुँदा समस्या समाधान तर्फ कुनै पहल हुन सकेको छैन ।