• २३ असोज २०८२, बिहिबार

गुल्मीमा पाँच हजारभन्दा बढी मतदाता थपिँदै

blog

मतदाता नामावलीमा आफ्नो नाम अद्यावधिक गराउँदै छत्रकोट–३ का सचिन टण्डन । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), असोज २३ गते । निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । 

गत असार १७ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने काम रोकिएको थियो । अहिले पुनः असोज १० गतेबाट मतदाता नामावलीमा आफ्नो नाम अद्यावधिक गर्ने अभियान सुरु भएपछि अहिलेसम्म १५० जनाले विवरण दर्ता गरिसकेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत क्रृषिराम घिमिरेले जानकारी दिनुभयो । 

केही दिन दसैँ बिदाका कारण कार्यालय बन्द रहेका थिए । दैनिक सङ्ख्या बढ्दै गएको छ । आयोगले तोकेको आगामी कार्तिक मसान्तको समय सीमाभित्र पाँचदेखि आठ हजारले नामवली अद्यावधिक गराउने आफूहरूको अनुमान रहेको निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो । 

उहाँले परदेशबाट आएका, नयाँ उमेर समूहका र घरमै रहेर पनि नामवली अद्यावधिक नगरेकाहरू विवरण दर्ताका लागि अहिले कार्यालयमा आएको बताउनुभयो । आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि जिल्लास्थित निर्वाचन कार्यालय पनि निर्वाचनको व्यवस्थापकीय तयारीमा जुटेका छन् । 

निर्वाचन आयोगको निर्देशनअनुसार मतदाता नामवली अद्यावधिक, भौतिक पूर्वाधारको अवस्था मुल्याङ्कन, जनशक्ति तथा निर्वाचन सामग्रीहरूको अवस्था विश्लेषण र मागका लागि विवरण पठाउने काम भएको जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो । 

मतदाता नामावली अद्यावधिक दाबी विरोध कार्यक्रम २०८२ अनुसार मृत्यु भएका मतदाताको मतदाता नामवलीबाट नाम हटाइएको सूचना सार्वजनिक भएको छ । चन्द्रकोटका २५, छत्रकोटका २८, धुर्कोट २४, गुल्मीदरवार ३३, इस्मा २५, कालीगण्डकी २३, मदाने २५, मालिका २२, मुसिकोट ३६, रेसुङ्गा ३०, रुरुक्षेत्र २६, सत्यवती ३१ गरेर ३२८ जना मृत्यु भएकाहरूको मतदाता नामवलीबाट नाम हटाइएको छ । 

त्रुटि हटाइएका ४७, ठाउँसारी गरेका ४९ र दोहोरो हटाइएका ८२ जना रहेका छन् । गुल्मीमा २०७९ सालको मतदाता नामवलीअनुसार जिल्लाभर पुरुष एक लाख १० हजार ७२८ र महिला एक लाख १३ हजार १२० गरेर कुल दुई लाख २३ हजार ८५० मतदाता रहेका छन् । 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र १ बाट नेपाली कांग्रेसका डाक्टर चन्द्रकान्त भण्डारीले ३३ हजार ७४४ र एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार १२५ मत प्राप्त गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारीले एक हजार ८८२ मत प्राप्त गर्नुभएको थियो । 

प्रतिनिधिसभा क्षेत्र २ मा एमालेका गोकर्ण विष्टले २८ हजार ४७६ र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्कबहादुर श्रीसले जानकारी दिनुभयो । 

त्यस्तै, सामानुपातिकतर्फ ४७ चिन्हमा मतदान भएको थियो । जसमा एमालेले प्रतिनिधिसभा क्षेत्र नं. १ मा २८ हजार ४५३ र क्षेत्र नं. २ मा २५ हजार १३० गरेर ५३ हजार ५५८ मत प्राप्त गरेको थियो । 

सूचना अधिकारी श्रीसका अनुसार नेपाली कांग्रेसले प्रतिनिधि क्षेत्र नं. १ मा २३ हजार ४१३ र क्षेत्र नं. २ मा १८ हजार ४५१ गरेर ४१ हजार ४६४ मत प्राप्त गरेको थियो । समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई पछाडि पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा क्षेत्र नं १ मा आठ हजार ११६ र क्षेत्र नं. २ मा चार हजार २६३ गरेर १२ हजार ३५२ मत प्राप्त गरेको थियो । 

नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा क्षेत्र नं. १ मा ६ हजार २५७ र क्षेत्र नं. २ मा पाँच हजार ४३७ गरेर ११ हजार ६९४ मत प्राप्त गरेको थियो । गुल्मीमा गत निर्वाचनसम्म १४२ निर्वाचनस्थल र २७९ मतदान केन्द्र रहेका थिए ।