रामकृष्ण बोहरा
बागलुङ, असोज २३ गते । मानवसेवा आश्रम बागलुङ शाखामा १० करोडको अक्षयकोष बनाउन महायज्ञ गरिने भएको छ । आगामी कात्तिक २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सञ्चालन गरेर १० करोडको अक्षयकोष बनाएर आश्रमलाई नियमित सञ्चालनमा ल्याउने लक्ष्य राखिएको हो ।
विशेषगरी मानवसेवा आश्रमको भवन आगामी चैत मसान्तभित्र सकेर दुई सय जना आश्रितलाई राखेर सेवा प्रवाह गर्ने लक्ष्य छ । त्यस बाहेक गण्डकी प्रदेशलाई सडक मानवरहित प्रदेश बनाउने लक्ष्य पूरा गर्ने, आगामी चैत मसान्तभित्र नेपाललाई नै सहयोगीपेक्षी सडक आश्रित मानवमुक्त नेपाल निर्माणको सङ्कल्प पूरा गर्न महायज्ञ सञ्चालन गर्न लागिएको समाजसेवी सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञ अवधिभर एक हजार जनालाई बिहान योग शिविरमा जोड्ने, विद्यार्थीलाई सकारात्मक सोच तथा मानवता प्रवर्धनका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्ने, महायज्ञ अवधिभर स्वास्थ्य शिविर सञ्चालन गर्ने, स्थानीय र राष्ट्रिय कलाकारद्वारा भजनकीर्तन र कला तथा नाटक मञ्चन गर्ने योजना छ । महायज्ञमा भागवत भास्कर कमलनयन गौतमले कथा प्रवचन गर्नु हुने छ ।
महायज्ञलाई व्यवस्थित बनाउन १ हजार ८ जना सदस्य रहेको आयोजक मूल समारोह समिति बनाइने छ । समाजसेवी राजभण्डारीको संयोजकत्वमा प्रारम्भिक समिति गठन भइसकेको छ । राजभण्डारीको अगुवाईमा बागलुङ नगरपालिका–२, कुँडुलेस्थित मुक्तिनाथ वेदविद्याश्रम, रङवेङ्कटेश्वर मुक्तिनारायण मन्दिर, सत्तल लगायतका संरचनाहरू निर्माण गरिएको छ ।
बागलुङ नगरपालिका वडा १ र ४ को सिमानामा पर्ने निरयघाटमा मानव सेवा आश्रमको भवन निर्माणाधीन छ । दानमुठी, बागलुङ नगरपालिकासहित जिल्लाका अन्य पालिका समेतले झण्डै ५ करोड लगानी गरेको भवन ठडिएको छ । यो भवनको निर्माण सम्पन्न गर्न थप तीन करोड रुपियाँ आवश्यक पर्छ ।
यो भवन बनेपछि दुई सय जनालाई राख्न सकिन्छ । मानव सेवा आश्रमले हाल बजारमा रहेको भवनमा ६६ जना आश्रितलाई राखिरहेको छ । सडकमा अलपत्र भेटिएका, अपाङ्गता भएका तथा परिवारबाट त्यागिएकालाई आश्रममा राख्ने गरिएको छ ।
मासिक १० लाख खर्च गरेर आश्रममा ६६ जना राखिएको आश्रम सञ्चालक बिपना तामाङले बताउनुभयो । त्यति ठुलो खर्च भने आश्रमले दानमुठीको भरमा चलाउँदै आएको छ । अक्षयकोष बनेपछि दानमुठीबाट मुक्ति मिल्ने विश्वास गरिएको आश्रम सञ्चालक तामाङले बताउनुभयो ।