बाबुराम देवकोटा
सिन्धुलीमाढी, असोज २३ गते । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ च्याउटारबेंसीमा पहिरोका कारण १५ घरपरिवार उच्च जोखिममा परेका छन् ।
यही असोज १७ र १८ गतेको अविरल वर्षाका कारण उक्त बस्तीमाथिबाट गएको पहिरोका कारण ती घर परिवार जोखिममा परेका हुन् । असोज १८ गते बिहान गएको उक्त पहिरोबाट निरबहादुर पाण्डेको गोठ र शाैचालय भत्किएर क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै, उक्त बस्तीका कुन्जरमणि बराल, ज्वालाप्रसाद न्यौपाने, ठाकुरप्रसाद न्यौपाने, सुरेश न्यौपाने, सुरेन्द्र न्यौपाने, शान्तिप्रसाद न्यौपाने लगायतको घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । जोखिममा परेका परिवार बस्नका लागि अन्यत्र ठाउँ(घर) नभएकाले राति सुत्न सुरक्षित स्थान खोज्दै जाने गरेको र दिउँसो आफ्नै घरमा आई बस्ने गरेको उक्त पहिरो पीडित तथा गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘बस्तीमाथिको पहिरो तथा ठुलो ढुङ्गाले पूरै बस्ती नै जोखिममा परेको छ । ढुङ्गा फुटाएर हटाउन तथा पहिरो नियन्त्रणका लागि गाउँपालिकाले गर्न सक्ने पहल गरिरहेको छ । त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई पनि जानकारी गराइसकेका छौं ।’’
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले उक्त पहिरो तथा ढुङ्गा व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट नेपाली सेनालाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँग समेत सो ढुङ्गा/चट्टान हटाई बस्ती बचाउन सहयोगकाे माग गर्ने निर्णय भएको छ ।’’