• २३ असोज २०८२, बिहिबार

'हुलाक सेवा प्रभावकारी बनाउन सहयोग अपरिहार्य'

blog

१५१ औं विश्व हुलाक दिवसमा आयोजित कार्यक्रमा आफ्नो मन्तव्य राख्नुहुँदै जिल्ला हुलाक कार्यालय रौतहटका हुलाक अधिकृत देवनाथ यादव । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीण कुमार शर्मा 

रौतहट, असोज २३ गते । हुलाक सेवा व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन सबै सरोकारवालाको सहयोग अपरिहार्य रहेको जिल्ला हुलाक कार्यालय रौतहटका हुलाक अधिकृत देवनाथ यादवले बताउनुभएको छ ।

जिल्ला हुलाक कार्यालय रौतहटमा बिहीबार १५१ औं विश्व हुलाक दिवस मनाउने क्रममा हुलाक अधिकृत यादवले हुलाक सेवा २१ औं शताब्दी अनुसार नयाँ प्रविधिमा ढल्न नसकेकोले सबैको साझा प्रयासले यसलाई उचाइमा पुर्‍याउन आजको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ । 

नयाँ प्रविधिमा हुलाक सेवा परिवर्तित नहुँदा कुरियर, ट्रान्सपोर्ट सेवाले ठाउँ ओगटेको बताउनुहुँदै हुलाक अधिकृत यादवले भारतमा टिफिन बक्स समेत हुलाकले पुर्‍याउने गरेको बताउनुभयो । नयाँ प्रविधि र कर्मचारीलाई आवश्यक तालिम उपलब्ध गराउन सके हुलाक सेवा प्रभावकारी हुने र जनताको विश्वास हुलाक सेवामा कायम रहनेमा दुई मत नरहेको उहाँले बताउनुभयो ।

रौतहटमा अहिले पनि चिठी पत्र महेन्द्र राजमार्ग भएर मात्र ओसारपसार हुने गरेकोले समय बढी लाग्ने बताउनुहुँदै हुलाक अधिकृत यादवले जिल्ला हुलाक कार्यालय रौतहटको प्रयासमा कार्तिकदेखि हुलाकी सडक भएर डांक सेवा सुचारु हुन लागेको बताउनुभयो । बाराको हरनैया र सर्लाहीको धनकौलसम्म डांक सेवाको लागि कार्यालयले इ रिक्सा प्रयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

विश्व हुलाक दिवस मनाउने क्रममा जिल्ला हुलाक कार्यालय रौतहटले कार्यालय परिसर सरसफाइ तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रथम हुने समूहलाई १  हजारको दरले रु. ४ हजार, द्वितीय हुनेलाई ७ सयको दरले रु. २ हजार ८ सय, तृतीय हुनेलाई ५ सयको दरले रु. २ हजार साथै सान्त्वना पुरस्कार राशी ३ सयको दरले रु. १ हजार २ सय गरी १० हजार रकम उपहारस्वरुप वितरण गरिएको छ ।

कर्मचारीहरुको मनोबल बढाउने र कामप्रतिको लगाव बढाउने उद्देश्यले हुलाक सेवा विभागको निर्देशानुसर यस्तो गरिएको हुलाक अधिकृत यादवले बताउनुभयो । कार्यक्रमसगैँ झण्डै ३० वर्ष सेवा गरेका हुलाकी राम अशिष साहको अनिवार्य अवकाश भएकोमा बिदाइ गरिएको उहाँले जानकारी दिनुभयो ।

'Post for People; Local Service Global Reach' नारासहित १५१ औं विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरि विश्वभरी मनाइँदैछ ।