• २३ असोज २०८२, बिहिबार

टी–२० विश्वकप छनोट : नेपालको विजयी सुरुवात

blog

रन बटुलेपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, असोज २३ गते । कुशल भुर्तेलको अर्धसतकसँगै नेपाली बलरले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी टी–२० एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा कुवेतलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा बुधबार राति सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो । 

जितका लागि नेपालले प्रस्तुत गरेको एक सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा सबै विकेटको क्षतिमा ८३ रनमा समेटिएको थियो ।

कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाउनुभयो । यस्तै यासिन पटेलले १९ र मीत भाब्सारले ११ रन जोड्नुभयो। यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका ललित राजवंशी, रोहित पौडेल र सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो । सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक एक विकेट झार्नुभयो । भुर्तेल प्लेयर अफ दि म्याच हुनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरको सात विकेटको क्षतिमा एक सय ४१ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ६६ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५६ बलमा समान तीन चौका र छक्कासहित उक्त रन बनाउनुभएको हो ।

यस्तै अलराउन्डर दीपेन्द्रसिंह ऐरिले १९ बलमा एक छक्कासहित २० र कप्तान रोहितकुमार पौडेलले १६ रन बनाउनुभयो । नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले दुई दुई तथा मोहम्मद आकिफ फरुकले एक विकेट लिनुभयो । यस जितसँगै नेपालले सुपर सिक्समा पुग्ने सम्भावना बलियो बनाएको छ । नेपालले समूहको दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ । 

एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेलमा नौ टोलीबिच प्रतिस्पर्धा हुनेछ । सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो ।

जसमा समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन् । समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोली ‘सुपर सिक्स’मा प्रवेश गर्नेछन् । 

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।