बाबुराम कार्की
वराहक्षेत्र, असोज २३ गते । अविरल रुपमा परेको आरीघोप्टे वर्षाले तरकारी बालीमा ठुलो क्षति पुर्याएकाे छ । सुनसरीका किसानहरुले लगाएको मौसमी र बेमौसमी तरकारी बालिमा ठुलो क्षति पुर्याएकाे कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।
असोज १८ गते बिहानदेखि परेको अविरल वर्षाका कारण तरकारी बालीमा ठुलो क्षति पुगेको हो । जिल्लाका किसानहरुले लागाएको तरकारी बाली र अगौटे पाकेको धान बालीमा क्षति पुर्याएको कृषि ज्ञानकेन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठले बताउनुभयो । सूचना अधिकृत श्रेष्ठका अनुसार क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ।
लगातार परेको पानीको डुबानले बढी तरकारी उत्पादन हुने क्षेत्रहरुमा इनरुवा, भोक्राहा, हरिनगर, कोशी गाउँपालिका लगायतका क्षेत्रमा बढीमात्रमा तरकारी र अगौटे धानबालीमा क्षति पुर्याएको बताइएको छ ।
यता जिल्लाको वराहक्षेत्र ९ ढोलबजिया क्षेत्रमा लगाइएको २१ बिघा क्षेत्रको तरकारी बालीमा पानीले डुबाउँदा ५० लाखभन्दा बढीको क्षति भएको सुन्दर कृषि फर्मका सञ्चालक अमिर निरौलाले बताउनुभयो। फार्म लागाएको मौसमी र बेमौसमी जातको तरकारी बालीमा पानीले डुबाउदा ठुलो क्षति भएको बताइएको छ ।
व्यावसायिक रुपमै ८ वर्षदेखि तीन जना युवा कृषकले फार्म सञ्चालन गरी तरकारी खेती गर्दै आएका कृषकलाई टिप्दै गरेको तरकारी बालीमा क्षति पुग्दा ठुलो नोक्सान भएको फार्म सञ्चालक अगुवा कृषक रघु चन्द्रवंशीले बताउनुभयो । दैनिक २८ जनालाई रोजगारी दिँदै आएको सुन्दर कृषि फर्ममा पानी पर्नुअगाडि दैनिक ५० हजारको तरकारी फार्म बाटै बिक्री हुँदै आएको थियो ।
तारकारी बालीमा बाढी र पानी जम्दा दुई बिघाको टमाटर, दश कठ्ठाको करेला, आठ कठ्ठाको बैगुन, एक बिघा दश कठ्ठाको क्यापपिकोन, पन्ध्र कठ्ठाको क्राँका, सात कठ्ठाको बोडी, फर्सी बाह्र कठ्ठा, घिरौंला सात कठ्ठा र तरकारीको बिरुवा सार्ने ड्याङ र मलचिङ् लगाएर घिउसिमी र फर्सी रोप्न तयार पारिएको दुई बिघा दश कठ्ठा क्षेत्रफलमा पानी पारेर डुबान र बाढीले नास गरेको छ ।
तरकारीका बिरुवा र मलचिङमा लगानी गरेको चौधलाख रुपियाँ खेर गएको कृषक अमिर निरौलाले बताउनुभयो । पानीले डुबाउँदा सरेको बिउ सुकेको छ भने फल्दै गरेको तरकारीका बोटहरु मर्न थालेका छन् । पानीको निकास नहुँदा थप क्षति भएको निरौलाले बताउनुभयो । तरकारीको भाउ लिने समयमै पानीले डुबाउँदा कृषकहरुलाई थप पीडित बनाएको छ ।
फार्म सञ्चालक कृषकले वराहक्षेत्र ८ र ९ मा गरी २१ बिघा क्षेत्रफलमा उन्नत जातको तरकारी खेती गर्दै आएका थिए । गत वर्ष उनीहरुले तरकारी खेतीबाटै एक करोड सात लाख बढीको कारोबार गरेको कृषक छविलाल चौधरीले बताउनुभयो ।
२०७४ सालबाट वराहक्षेत्र नगरपालिका–९ मा एक बिघा जग्गा लिजमा लिएर तरकारी खेती सुरु गरेका उनीहरूले गत वर्षबाट २१ बिघा क्षेत्रफलमा विभिन्न जातको तरकारी खेती गर्दै आएका छन् । कृषकहरुले टनेल, ग्रिनेट, मलचिङ् प्रविधि प्रयोग गरेर बेमौसमी तरकारी खेती गर्दै आएका थिए “कृषक रघु चन्द्रवंशीले भन्नुभयो ।” सुन्दर कृषि फार्ममा उत्पादन भएको तरकारी व्यापारीले होलसेल दरमा फार्ममै आएर लैजाने गरेका छन् ।
बाह्रै महिना तरकारी खेती गर्दै आउनुभएका उहाँहरूले सुरुवाती समयमा गुगलमा सर्च गरेर खोज्दै तरकारी खेती गर्दै आएको सुनाउनुभयो ।