• २३ असोज २०८२, बिहिबार

पोखरा आउने पर्यटकलाई छुट

blog

कास्की समाचारदाता

कास्की, असोज २३ गते । होटेल सङ्घ पोखराले पोखरा भ्रमणमा आएका पर्यटकलाई प्रचलित दररेटमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिकूल मौसममा पोखरा आउने पर्यटकलाई विशेष छुटको व्यवस्था मिलाइएको उल्लेख गरेको छ । 

हालको जोखिमलाई हेरेर सरकारले असोज १९ र २० गतेका लागि सार्वजनिक बिदाको समेत घोषणा गरिसकेको भन्दै सङ्घले पोखरा र वरपरको क्षेत्रको भ्रमणका क्रममा बाढीपहिरो र मौसमजन्य विपत्ति तथा कठिनाइका कारण कोही पर्यटक अलपत्र परेको र बिखर्ची भएको भए होटेल सङ्घ पोखरा नेपालले निःशुल्क खान बस्नको व्यवस्था गरेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । बेखर्ची र अलपत्र पर्यटकलाई निःशुल्क खानेबस्ने व्यवस्था गरे पनि कोही पर्यटक सम्पर्कमा नआएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । 

दसैँ टीकाको अघिल्लो दिनसम्म पोखराका होटेलमा ३५ प्रतिशत भरिभराउ रहेको भए पनि हाल त्यो घटेर करिब १५ प्रतिशतमा झरेको उहाँले जानकारी दिनुभयो । जेनजी आन्दोलनका क्रममा पोखराका आधा दर्जन पर्यटकीय प्रतिष्ठानमा क्षति पुगे पनि अरू सबै पर्यटकीय संरचना यथावत् र सेवा दिन तयारी अवस्थामा रहेको उहाँले उल्लेख गर्नुभएको छ । 

सङ्घका अनुसार पोखरामा एक हजार दुई सय होटेलमा ४० हजार बेड रहेका छन् । पोखरा आउने आन्तरिक तथा बाह्य पाहुनालाई खानबस्नको कुनै समस्या नभएको सुवेदीले उल्लेख गर्नुभयो । आन्दोलनका क्रममा पोखराका केही होटेलमा आगजनी र तोडफोड भएको थियो ।