• २३ असोज २०८२, बिहिबार

सर्पले डसेपछि धामीझाँक्रीको भर पर्दा मृत्यु

blog

जनार्जन खत्री
सर्लाही, असोज २३ गते । सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो गोमन सर्पले डसेर स्थानीय रविन्द्र यादवकी ४२ वर्षीया श्रीमती नयनदेवी यादवको मृत्यु भएको हो ।

नयनदेवीलाई सर्पले डसेपछि परिवारका सदस्यले नजिकै रहेको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए ।

महिलाको अवस्था गम्भीर भएपछि मात्रै परिवारका सदस्यले उहाँलाई प्रादेशिक अस्पताल मलङ्गवा ल्याएका थिए । अस्पताल ल्याउँदा चिकित्सकले उहाँको मृत्यु भइसकेको घोषणा गरे ।

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार मृत्यु भइसकेकाले महिलालाई सर्पदंशविरुद्धको एन्टीस्नेक भेनम चढाउन पाइएन । प्रादेशिक अस्पताल मलङ्गवाले मृत घोषणा गरेपछि पनि परिवारका सदस्यले महिलालाई नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याएका थिए ।

उपचार केन्द्रका इन्चार्ज एवम् हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले बिरामीको मृत्यु भइसकेकाले शव घर लैजान भनिएको बताउनुभयो । अत्यन्त विषालु हुने गोमन सर्पले डसेपछि तुरुन्त अस्पताल ल्याउनुको साटो धामीझाँक्री कहाँ लैजाँदा उपचार नपाएर बिरामीको मृत्यु हुन पुगेको यादवको भनाइ छ ।