विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज २३ गते । तलब नपाएको भन्दै सप्तरीको खडक नगरपालिकामा शिक्षकहरुले तालाबन्दी गरेका छन् । चार महिनादेखि तलब नपाएको र भोकै पेट काम गर्ने नसक्ने उल्लेख गर्दै बुधबार शिक्षकहरुले कल्याणपुरस्थित नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।
महान चाड दसैँको मुखमा शिक्षक कर्मचारीलाई तलब खुवाउने कार्यपालिकाबाट निर्णय भएको र त्यो कार्यान्वयन नहुँदा असोज ७ मै जिल्ला प्रशासन कार्यालय सप्तरी समेतलाई जानकारी गराए पनि तलब नपाएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको शिक्षक कुलानन्द साहले बताउनुभयो ।
चार–चार महिनासम्म भोको पेटले हामीलाई काम गर्न बाध्य बनाएकोले तालाबन्दी गरी पठनपाठन ठप्प पार्ने घोषणासहित विरोधमा उत्रिनु परेको अर्का शिक्षक शैलेन्द्र कुमार चौधरीले दुखेसो पोख्नुभयो ।
तालाबन्दीपछि जारी गरिएको प्रेस विज्ञप्तिमा शिक्षक धर्मराज सिंहसहित खडक नगरपालिकाका १५ जनाको हस्ताक्षर रहेको छ ।
यता खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था अनुसार नगरप्रमुख जयप्रकाश चौधरीले अख्तियारी नदिएका कारण तलब दिन नसकिएको बताउनुभयो ।
“असारमै नगरसभा सकेर अख्तियारी दिने निर्णय भएको र पुनः असोज २ गते पनि कार्यपालिकाबाट निर्णय हुँदा पनि नगरप्रमुख चौधरीले दिनुभएको छैन्, त्यसैले तलब खुवाउन नसकिएको हो’’ उहाँले भन्नुभयो ।