• २३ असोज २०८२, बिहिबार

लेखा अधिकृत गौतममाथि दुर्व्यवहार : कर्मचारी युनियनद्वारा गम्भीर ध्यानाकर्षण

blog

लेखा अधिकृत सुदिप गौतम । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
रौतहट, असोज २३ गते ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति रौतहटले लेखा अधिकृत सुदिप गौतममाथि भएको दुर्व्यवहार, गालि गलौज र हातपातको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लेखा अधिकृत गौतम रौतहटमा रहेको प्रदेश सरकारका कार्यालयहरु पर्यटन विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, डिभिजन वन कार्यालय र भू तथा जलाधार विकास कार्यालयमा लेखा प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।

युनियन जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष इसराजुल खाँका अनुसार कर्मचारीले गल्ति गरेको भए कानुनी कारबाही गर्ने गराउने उपायहरु हुँदाहुँदै राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार एवम् हातपात हुनु अत्यन्त दुःखद र आपत्तिजनक विषय रहेको छ ।
युनियन रौतहटले उक्त घृणित कार्यको घोर निन्दा एवम् भत्र्सना गरेको छ ।

यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गरी कानुन हातमा लिने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न युनियन रौतहटले जोडदार माग गरेको छ ।

कार्यालयमा भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाई राष्ट्रसेवक कर्मचारीले भयरहित तवरले कार्य सम्पादन गर्न सक्ने वातावरण बनाउन समेत सरोकारबालालाइ युनियन रौतहटले आग्रह गरेको छ ।

गएको सोमबार राति चन्द्रनिगाहपुरस्थित गौतम होटलमा खाजा खान बसिरहेको समयमा लेखा अधिकृत गौतममाथि एक जनाले कालोमोसो दलेका थिए ।

पूर्वाधार विकास कार्यालयबाट अनाधिकृत रुपमा भुक्तानी नदिएको निहुँमा आफुमाथि दुर्व्यवहार भएको लेखा अधिकृत गौतमले बताउनुभएको छ ।