• २३ असोज २०८२, बिहिबार

सरकारी कामकाजका लागि प्रभावकारी बन्दै हुलाक सेवा

blog

जिल्ला हुलाक कार्यालय कञ्चनपुर । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, असोज २३ गते ।
जिल्ला हुलाक कार्यालय, कञ्चनपुर सरकारी कामकाजका लागि प्रभावकारी बन्दै गएको छ । हुलाक सेवामार्फत सरकारी चिठ्ठी पत्र, रजिष्ट्री चिठ्ठी पत्र दर्ताको काम बर्सेनि बढ्दै गएको छ भने व्यक्तिगत चिठ्ठी पत्र आदान–प्रदानको कार्य भने घट्दो क्रममा रहेको छ । जिल्ला हुलाक कार्यालय कञ्चनपुरमा पछिल्लो पाँच वर्षमा एक लाख ७० हजार ५८७ हुलाक वस्तु आयात तथा निर्यात गरिएका छन् ।  

हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी भोजराज भट्टका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा ३३ हजार ११३ हुलाक वस्तु आयात तथा निर्यात गरिएका छन् । जसमा १३ हजार २७७ रजिष्ट्री चिठ्ठी, १० हजार ५३४ रजिष्ट्री चिठ्ठी (दर्ता), पाँच हजार ३०५ समाचार पत्रपत्रिका, दुई हजार ८४० साधारण चिठी, ३२० द्रुत चिठ्ठी, २५३ बुक पोस्ट छापा कागज , २०७ पुलिन्दा, २५७ पुलिन्दा (दर्ता), ८२ बुक पोस्ट (रजिष्ट्री), ३१ वैदेशिक पार्सल र सात साना पाकेट आयात र निर्यात गरिएका छन् ।

जिल्ला हुलाक कार्यालय कञ्चनपुरमा पछिल्लो पाँच वर्षमा द्रुत चिठ्ठी पत्र, पुलिन्दा दर्ता, वैदेशिक पार्सल, बुक पोस्ट (रजिष्ट्री) र रजिष्ट्री चिठ्ठी आयात तथा निर्यात सङ्ख्या बढ्दो क्रममा रहेको छ । यसैगरी, पोष्टकार्ड आयात/निर्यात भने घट्दो क्रममा रहेको छ । विगत दुई वर्षयता पोस्ट कार्ड आयात निर्यात शून्यमा झरेको कार्यालयका सूचना अधिकारी भट्टले बताउनुभयो ।

कार्यालयका अनुसार, आव २०७७/०७८ मा ६५ द्रुत चिठ्ठी आयात निर्यात भएका थिए भने, आव २०७८/०७९ मा ६६, आव २०७९/०८० मा १४५, आव २०८०/ ०८१ मा १८२ र गत आवमा ३२० द्रुत चिठी आयात/निर्यात गरिएका थिए ।

कार्यालयका सूचना अधिकारी भट्टका अनुसार, यस कार्यालयबाट आर्थिक वर्ष २०७७/०७८ मा ३३ हजार ७७८, आव २०७८/ ०७९ मा ३१ हजार ३६७, आव २०७९/०८० मा ३७ हजार ६३२, आव २०८०/०८१ मा ३४ हजार ६९७ र गत आवमा ३३ हजार ११३ चिठ्ठी पत्र आयात र निर्यात भएका छन् ।  

यसैगरी, पछिल्लो पाँच वर्षयता आव २०७९/०८० मा हुलाक सामग्री अत्यधिक रूपमा आयात र निर्यात गरिएका थिए ।

हाल कञ्चनपुरका आठ पालिकामा हुलाक कार्यालयबाट कार्य हुँदै आएको छ भने चार वटा अतिरिक्त हुलाक कार्यालय पनि सञ्चालनमा छन् । अतिरिक्त हुलाक कार्यालय भने दैनिक दुई घण्टा मात्रै सञ्चालनमा रहने गरेका छन् भने पालिकास्थित हुलाक सेवा भने कार्यालय समयमा सञ्चालनमा रहने जिल्ला हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी भट्टले जानकारी दिनुभयो ।  

सरकारी निकायमा हुलाकमार्फत चिठ्ठी पत्र आदानप्रदान गर्ने चलन भए पनि पछिल्लो समय सर्वसाधारणको भने त्यस तर्फ ध्यान जान छोडेको छ । यो सेवा समय अनुसार चुस्त र छिटोछरितो नबन्दा यस तर्फ सर्वसाधारणको ध्यान घट्दै गएको सूचना अधिकारी भट्टले बताउनुभयो ।