• २३ असोज २०८२, बिहिबार

मुङ्ग्रहवा नाच लोप हुन सक्ने

blog

मुङ्ग्रहवा नाच देखाउँदै खरुवाखेराका स्थानीय । तस्बिर : कुलराज चौधरी

धनगढी समाचारदाता

धनगढी, असोज २३ गते । वीरताको प्रतीक थारू समुदायको मुङ्ग्रहवा नाच लोप हुने खतरा बढेको छ । यस्ता लोपोन्मुख नाच संरक्षणको प्रयास राज्यस्तरबाटै नभएपछि यो मौलिक नाच लोप हुने खतरा बढेको हो । विगतमा दसैँ, दीपावलीताका विभिन्न गाउँमा नाचिँदै आएको यो नाच पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । 

पहिले मुङ्ग्रहवा नाच गरेका पुस्ता अहिले बुढेसकालमा पुगिसकेका छन् । पिठ्युँपछाडि मयूरको प्वाँख बाँधी काठको मुङ्ग्रो लिएर देखाउने नाच नयाँ पुस्तामा पुस्तान्तरण हुन सकेको छैन । मुङ्ग्रहवा नाच संरक्षणप्रति राज्यको ध्यान नगएकाले यो नाच लोप हुने खतरा बढ्दै गएको कैलारी गाउँपालिका–६, खरुवाखेराका मुङ्ग्रहवा नाचका अगुवा मन्दरिया भागिराम चौधरीले दुःखेसो गर्नुभयो । “हामीले संरक्षणका लागि आफ्नोतर्फबाट धेरै कोसिस गर्दै आएको छौँ,” उहाँले थप्नुभयो, “तर राज्यले चासो नदिएका कारण निराश छौं । एकदिन यो नाच लोप हुने चिन्ता छ ।”

कैलालीमा मुङ्ग्रहवा नाच खरुवाखेराको भागिरामको टिमले मात्रै नियमित रूपमा देखाउँदै आएको छ । चौधरीसहित उहाँका सहपाठीले २०४२ सालदेखि यो नाच देखाउँदै आएका छन् तर राज्यबाट हौसला थप्ने काम नभएपछि अब निराशा छाएको उहाँको भनाइ छ । 

मुङ्ग्रहवा नाच पुरुष र महिला दुवै मिलेर नाच्ने गरेका छन् । पछाडि नाचिने महिलालाई द्रौपदी भन्ने गरिएको छ । विगतमा द्रौपदीको भूमिका पनि पुरुषले नै महिलाको वेशभूषा लगाएर निर्वाह गर्ने गरेका थिए तर अचेल यो भूमिकामा महिला नै रहने गरेका जनाइएको छ । थारू समुदायको यो एकदम आकर्षक नाच लोपको सँघारमा पुग्नु चिन्ताको विषय रहेको कैलारी गाउँपालिका–६ कै कुलराज चौधरीले बताउनुभयो । उहाँले यो नृत्य संरक्षणका लागि सबै जुर्मुराउन आवश्यक रहेको औँल्याउनुभयो । 

स्थानीयका अनुसार महाभारतको कथासँग सम्बन्धित थारू समुदायको मुङ्ग्रहवा नाचलाई वीरताको प्रतीकका रूपमा लिने गरिन्छ । थारू युवाले आफ्नो पौरख र वीरता देखाउनका लागि यो नाच नाच्ने गरेको बताइन्छ । 

स्थानीय किंवदन्ती अनुसार पाँच पाण्डव वनवास गएका बेला उनीहरूका पत्नी द्रौपदीलाई किचक (राजा विराट्का मन्त्री) ले गलत नजर लगाएका थिए । पत्नीलाई गलत नजरले हेरेको रिसमा पाण्डवका महिला भाइ भीमले गदा (मुङ्ग्रो) ले हानेर किचकलाई मारेका थिए । त्यस्तै भीमले कौरव पक्षका शक्तिशाली दुर्योधनको वध पनि गदाले हिर्काएर गरेका थिए । भीमले आफ्नो वीरता देखाएका कारण त्यसको सम्झनामा मुङ्ग्रो लिएर मुङ्ग्रहवा नाच देखाइने गरेको जनाइएको छ ।