• २३ असोज २०८२, बिहिबार

प्रशासनमा भीड : कर्मचारी थपेर सेवा प्रवाह

blog

जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी) असोज २३ गते ।
गुल्मीको इस्मा गाउँपालिका–२ हस्तिचौरमा सुगम विक राहादानीका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीको लाइनमा हुनुहुन्थ्यो । बुटवलमा पढ्दै गर्नुभएका विक दसैँमा घरमा आउनुभएको थियो । बिदामा घर आएको मौकामा राहादानी बनाउँदा फेरि आउन नपर्ने भएकाले प्रशासन आएको सुगमले बताउनुभयो ।

मालिका गाउँपालिका–६ अर्जेबाट मुना चालिसे पनि सबेरै प्रशासन आउनु भएको थियो । टाढा र फर्किने गाडीका कारण बिहानकै आएर राष्ट्रिय परिचय पत्रको काम सकेको चालिसेले बताउनुभयो । बुधबार सत्यवति गाउँपालिका–५ का समिर केसी गाडीमा आउँदा–आउँदै ११ बज्यो । दिनभर लाइनमा बसे पनि पालो नआउने देखेपछि बिहीबार काम गर्ने गरेर बाहिर निस्किएको केसीले सुनाउनुभयो ।

दसैँपछि जिल्ला प्रशासन कार्यालयमा विभिन्न सेवा लिने सेवाग्राहीहरुको भीड बढ्दै गएको छ । दसैँमा घर आएको मौका छोपेर नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउनेहरुले प्रशासनमा भीड छ । बर्सेनी दसैँतिहारको बेला प्रशासनका भीड धेरै हुने भएकाले आफुहरुले सहज सेवा प्रवाहको उपाय खोजिरहेको प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कोइरालाले बताउनुभयो । उहाँले आफुहरुले कसैलाई पनि दुःख दिने मनसाय नराखेर सकेसम्म धेरैभन्दा धेरैलाई सेवा दिने प्रयासहरु जारी राखेको बताउनुभयो ।

नागरिकको सेवालाई सहज र सरल बनाउन प्रमुख जिल्ला अधिकारी कोइराला र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे फाँटमै बसेर सहजीकरण गर्ने तथा लाइन र कागजपत्र व्यवस्थापनमा समेत सहयोग गरिरहनुभएको छ । अहिले राष्ट्रिय परिचय पत्र र राहादानीमा टोकन प्रणाली लागू गरिएको छ ।

कर्मचारीहरुको अभाव देखिएपछि जिल्ला समन्वय समिति, डिभिजन वन, मालपोत र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट एक÷एक जना कर्मचारी माग गरेर प्रशासनको सेवा प्रवाह गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी समेत रहनुभएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक १८० देखि २०० जनाको राष्ट्रिय परिचय पत्रको विवरण दर्ता र वितरण भइरहेको छ ।

नागरिकता सरदर सय र १२० जनाका लागि राहादानीको टोकन वितरण गरिएको गैरेले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयका दुई प्रशासकीय अधिकृतमध्ये एक जना मात्रै कार्यरत हुनुहुन्छ । भने स्थायी चार खरदारको दरबन्दी खाली छ । कार्यालयले लोक सेवाको अनुमति लिएर अस्थायी कर्मचारी नियुक्ति गरेर काम गरेको गैरेले बताउनुभयो । एक जना कम्प्युटर अपरेटर पनि खाली रहेको छ ।