• २३ असोज २०८२, बिहिबार

जर्मनी पुग्छ तोरीपानीको टिमुर

blog

बेनी समाचारदाता  

बेनी (म्याग्दी), असोज २३ गते । म्याग्दीको एक गाउँमा फलेको टिमुर युरोपको भान्सासम्म पुग्छ । सुरुमा कोसेलीका रूपमा विभिन्न देशमा पुग्ने गरेको टिमुर अहिले व्यावसायिक रूपमा नै जर्मनीमा निर्यात हुने गरेको छ । 

मुखमा राख्दा रमरम गर्ने स्वाद भएको मसलेदार टिमुर तरकारी, दाल र अचार तथा जडीबुटीका रूपमा प्रयोग हुन्छ । म्याग्दीमा उत्पादन भएको टिमुर राम्रो गुणस्तरको भएकाले विदेशसम्मबाट माग आउने गरेको टिमुर उत्पादक किसानको भनाइ छ । बेनी नगरपालिका–९, तोरीपानीमा उत्पादन भएको टिमुर तीन वर्षदेखि युरोपेली मुलुक जर्मनी पुग्ने गरेको छ । यहाँ उत्पादन भएको टिमुरको स्वाद जर्मन नागरिकले मन पराउन थालेपछि व्यावसायिक रूपमा नै निर्यात हुन थालेको तोरीपानीका टिमुर उत्पादक कृषक इवगिरी सन्न्यासीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा कोसेलीका रूपमा पठाउने गरेका थियौँ । पछि त्यहाँका नागरिकले यहाँको टिमुरको स्वाद मन पराउन थालेपछि तीन वर्षदेखि व्यावसायिक रूपमा निर्यात गर्न थालेका छौँ ।”

टिमुर बिक्री गरेर थोरै पैसा हात लाग्ने गरे पनि आफूले फलाएको टिमुर विदेश पुग्दा गौरवको अनुभूति हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले उत्पादन गरेको टिमुर दुई वर्षअघि एक मुरी र गत वर्ष दुई मुरी जर्मनी निर्यात गरेको थिएँ । यो वर्ष पनि टिमुरको माग आएको छ ।” काठमाडौँमा रहेको इको हिमालको सहयोगमार्फत टिमुर जर्मनी निर्यात हुने गरेको हो । प्रतिकेजी तीन हजार पाँच सय रुपियाँका दरले बिक्री हुने गरेको उहाँले बताउनुभयो । विभिन्न व्यापारी र समूहले यहाँबाट काठमाडौँ पु¥याएको टिमुर विदेशका अन्य मुलुकमा समेत निर्यात गर्ने गरेका छन् । टिमुर बिक्री गरेर तोरीपानीका किसानको घरखर्च राम्रोसँग चलेको सन्न्यासीले बताउनुभयो । 

पाखोबारीमा प्राकृतिक रूपमा उम्रिएको टिमुरको बोटबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले बिरुवा नै उत्पादन गरेर टिमुर खेती गर्न थालेका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष टिमुर राम्रो फलेको स्थानीय सोविता परियारले बताउनुभयो । यतिखेर टिमुरको बोट फल पाकेर राताम्मे भएका छन् । विदेश निर्यात हुन थालेपछि टिमुरको मूल्य पनि बढेको परियारले बताउनुभयो । 

जर्मनीका साथै काठमाडौँ पुगेको टिमुर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुने गरेको भुमेसिद्ध टिमुर सञ्जाल घतानका अध्यक्ष सागर बानियाँले बताउनुभयो । खोल्सा, भिरालो जमिन र खाद्यान्न बाली उत्पादन नहुने ठाउँमा गरिएको टिमुर खेती यहाँका किसानका लागि राम्रो आम्दानीको स्रोत भएको उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष ४० देखि ५० मुरी टिमुर उत्पादन भएको उहाँले बताउनुभयो । यो वर्ष करिब एक सय मुरी टिमुर उत्पादन हुने अनुमान गरिएको छ । सञ्जाल अन्तर्गत १९ वटा समूहका करिब एक सय घरधुरी कृषकले टिमुर खेती गरेका छन् । 

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार तोरीपानीका साथै नेप्टेचौर, स्यानीखेत, काउलेगौँडा, भगवती, नारच्याङ, वेग, पिप्ले, ताकम, दरबाङ र मुना, आखरबोट, बरन्जा, मुदी टिमुर खेतीका लागि पकेट क्षेत्र हुन । असोज, कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय हो ।  

म्याग्दीमा टिमुर उत्पादन र बजारीकरणका लागि गैरसरकारी संस्था इको हिमालले सहयोग गरेको छ । टिमुर खेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सहयोग गरेको जडीबुटीको खोज तथा अनुसन्धानमा विगत दुई दशकदेखि सक्रिय डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर १५० किसानले व्यावसायिक टिमुर खेती गरेका छन् । 

म्याग्दीमा फलेको टिमुरको ल्याब परीक्षण गर्दा राम्रो र गुणस्तरयुक्त भएको उहाँको भनाइ छ । यहाँका किसानले बोटमा राम्रोसँग पकाएर टिप्ने भएकाले स्वाद र गुणस्तरमा अन्यत्रको भन्दा राम्रो हुने उहाँको भनाइ छ । टिमुरको बिरुवा रोपेको एक वर्षदेखि उत्पादन दिन थाले पनि राम्रो तरिकाले उत्पादन गर्न १० वर्ष लाग्ने उहाँले बताउनुभयो । समुद्री सतहबाट एक हजार पाँच सयदेखि दुई हजार दुई सय मिटरको उचाइसम्ममा टिमुर खेती गर्न सकिने उहाँले बताउनुभयो । गत वर्ष डिभिजन वन कार्यालयले करिब २० हजार टिमुरका बिरुवा किसानलाई वितरण गरेको थियो । टिमुर खेतीको विस्तार भएकाले अबको १० देखि १२ वर्षमा म्याग्दीबाट ट्रकमै राखेर ढुवानी गर्न मिल्ने गरी टिमुर उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो । 

जिल्लामा उत्पादन भएको टिमुर युरोपसम्म पुगेपछि कृषक उत्साहित भएकाले प्रत्येक वर्ष टिमुर खेतीको विस्तार हुने क्रम वृद्धि भएको डिभिजन वन अधिकृत सापकोटाको भनाइ छ ।