• २२ असोज २०८२, बुधबार

ऊर्जामन्त्री घिसिङ र युएनडिपीका प्रतिनिधिबिच भेट

blog

ऊर्जामन्त्री कुलमान घिसिङसँग भेट गर्नुहुँदै नेपालका लागि संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका ।

काठमाडौँ, असोज २२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका नेतृत्वको टोलीबिच शिष्टाचार भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा भएको भेटमा युएनडिपीले निर्वाचनका लागि उपलब्ध गराउन सक्ने सहयोग, हाल ऊर्जा, जलवायु परिवर्तनलगायतका क्षेत्रमा उपलब्ध गराइरहेको सहायता एवम् सञ्चालित योजना कार्यान्वयन अवस्थामा बारेमा छलफल भएको थियो । 

रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने सरकारले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री घिसिङले अन्य देशमा प्रयोगमा ल्याइएको अनलाइन मतदान प्रविधि नेपालमा पनि अपनाउन आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गर्नुभयो । 

युएनडिपीका तर्फबाट निर्वाचनका लागि सहयोग उपलब्ध गराउने, जलवायु कोषबाट नेपालले पाउने आर्थिक सहायताका लागि पहल गर्नेलगायतका विषयमा सहयोग उपलब्ध गराउने बताइएको थियो ।