• ८ वैशाख २०८१, शनिबार

बुटवलमा बिसे नगर्चीको शालिक बन्ने

blog

बिसे नगर्चीको शालिक निर्माणका लागि शिलान्यास गरिँदै । तस्बिर : गोरखापत्र

छविलाल पाण्डे 

बुटवल, असार १६ गते । बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलवारी) पार्कमा पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार बिसे नगर्चीको शालिक बन्ने भएको छ । शालिक निर्माणका लागि पूर्वराजदुत पदम सुन्दासले बुधबार एक समारोहका वीच शिलान्यास गर्नुभएको हो । 

परियार सेवा समाज रुपन्देहीको अगुवाइमा बुटवल–२ फूलबारीस्थित मणिमुकुन्दसेन उद्यान पार्कमा बिसे नगर्चीको पूर्ण कदको शालिक बन्ने समाजका रुपन्देहीका अध्यक्ष लोकवहादुर नेपालीले जानकारी दिनुभयो । 

वि.सं. १७४६ मा जन्मिएका बिसे नगर्चीले नेपाल एकीकरणका समयमा पृथ्वीनारायण शाहलाई आर्थिक सहयोग गरी महत्वपूर्ण योगदान दिएको इतिहासमा उल्लेख छ । परियार सेवा समाजले तत्कालीन समयमा पृथ्वीनारायण शाहलाई सल्लाह दिएर नेपालको एकीकरण सम्भव बनाएको भन्दै पृथ्वीनारायण शाहसागै नगर्चीलाई पनि सम्मान गर्नुपर्ने ठानेर शालिक बनाउन लागेको जनाएको हो । 

समाजका रुपन्देही अध्यक्ष लोकबहादुर नेपालीले नगर्चीको वि.संं १८२८ मा निधन भएको र नेपाल एकीकरणमा पृथ्वीनारायाण शाहको प्रमुख सल्लाहकार रहेका नगर्चीलाई पछिल्लो पुुस्तामा परिचित गराउन र सबैलाई नगर्चीको योगदानको महत्व बुझाउन पर्यटकीय स्थल फूलबारीमा शालिक निर्माण गर्न लागिएको बताउनु भयो । 

शिलान्यास समारोहमा संविधानसभा सदस्य विनोद पहाडीले नगर्चीको योगदान नेपालको एकीकरण इतिहासमा पृथ्वीनारायण शाहसंगै जोडिएकोले नगर्चीको स्मरण नगरिनु उनीमाथिको अन्याय हुने बताउनु भयो । उहाँले पृथ्वीनारायण शाहको आर्थिक सल्लाहकारका रुपमा नगर्चीले भूमिका निर्वाह गरेकोले अर्थविद्हरुले समेत नगर्चीको योगदानको विषयमा उल्लेख गर्नुपर्ने बताउनु भयो । 

आउँदो ६ महिनाभित्र शालिक निर्माण सम्पन्न गर्ने लक्ष्य समाजले लिएको छ । मणिमुकुन्दसेन उद्यान बुटवल फूलबारीका अध्यक्ष खेम लुइँटेलले नगर्चीको शालिकले पुरानो इतिहास नयाँ पुस्तामाझ चिनाउन मद्दत गर्ने विश्वास ब्यक्त गर्नुभयो ।