नागेन्द्रकुमार कर्ण
महोत्तरी, असोज २२ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । जलेश्वर नगरपालिका-६, धबौली घर भएका नसरुद्धिन साफीका करिब १४ वर्षिया छोरा सलमान साफीको बाढीमा डुबेर मृत्यु भएको हो ।
बुधबार दिउँसो केही बच्चासहित खेल्दाखेल्दै बाढीमा नुहाउन पुगेका बेला उनलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । उनीसँगै रहेका बालबालिकाले होहल्ला गरेका थिए । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतले करिब दुई घण्टासम्म टोली नै बनाएर खोजतलाश गरेका थिए ।
बाढीले बगाएर बेपत्ता बनाएको बालक साफीलाई दुई घण्टापछि सुरक्षाकर्मीले फेला पारेर प्रहरीको गाडीमा राखेर प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो । जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।
शनिबार र आइतबार लगातार परेको पानीको कारण रातो नदीको तटबन्ध भत्किदाँ सदरमुकाम जलमग्न छन् । चार दिन बितिसक्दा समेत बाढीको पानी अहिले पनि जलेश्वरबाट निस्कन सकेको छैन । बुधबारसम्म जलेश्वरको जलेश्वरनाथ महादेव मन्दिरदेखि लिएर नगरपालिका कार्यालय नजिकैको बस स्टेन्डसम्म एक फिट पानी जमेको छ । जसको कारण सो बाटो भएर जलेश्वर आवत–जावत गर्ने यात्रुहरूले सास्ती भोग्नु परिरहेको छ ।