• २२ असोज २०८२, बुधबार

पहिलो पटक चार हजार डलर नाघ्यो सुन : लगानीकर्ता सुरक्षित स्थानमा

blog

हङकङ, असोज २२ गते । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबिच लगानीकर्ता सुरक्षित स्थानतर्फ लागेपछि बुधबार सुनको मूल्यले इतिहासमै पहिलो पटक चार हजार डलर पार गरेको छ ।

टेक कम्पनीको तीव्र उकालो रेकर्डमा पुगेपछि अब ती बजार अत्यधिक मूल्याङ्कनमा पुगेको चिन्तासँगै सुनमा लगानी बढेको हो । वर्षभरि व्यापारी विश्वव्यापी आर्थिक अनिश्चितता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति र भू-राजनीतिक तनावबिच सुनमा निर्भर रहँदै आएका छन् । 

परिणाम स्वरूप सुनको मूल्य यस वर्ष मात्र ५० प्रतिशतभन्दा बढीले बढि सकेको छ । फ्रान्समा प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपति इमानुएल म्याक्रोनमाथिको राजनीतिक दबाबले पनि सुनलाई थप आकर्षक बनाएको थियो । लामो समयदेखि अस्थिरताका समयमा सुरक्षित सम्पत्ति मानिँदै आएको सुन बुधबार चार हजार ३७ दशमलव १० डलरसम्म पुगेको छ । 

यससँगै चाँदी पनि आफ्नै रेकर्ड नजिक पुगेको छ । अमेरिकी सरकारका केही विभाग बन्द हुँदा लगानीकर्तामा अनिश्चितता बढेको छ । यसले विशेषतः रोजगारी सम्बन्धी प्रमुख आर्थिक तथ्याङ्क स्थगित गरेको छ र अमेरिकी केन्द्रीय बैँक ‘फेडरल रिजर्भ’ लाई ब्याजदरसम्बन्धी निर्णयमा अन्योलमा पारेको छ ।

नेसनल अस्ट्रेलिया बैँकका अर्थ विश्लेषक टेलर न्युजेन्टले भन्नुभयो, “सुनको तीव्र वृद्धि एक्सचेन्ज-ट्रेडेड फन्डको बढ्दो आगमन, चीनबाटको बलियो माग र विश्वका केन्द्रीय बैँकको खरिदले समर्थन गरेको हो । राजनीतिक, आर्थिक र मुद्रास्फीति अनिश्चिततामा सुन सधैँ लाभमा रहन्छ ।” त्यस्तै पेपरस्टोनका क्रिस वेस्टनले लेख्नुभएके छ, “विश्वका कोष र रिजर्भ प्रबन्धकले वित्तीय अस्थिरता, मुद्रा अवमूल्यन र अनपेक्षित सरकारी नीतिबाट जोगिन हेज खोजिरहेका छन्र- सुन त्यसको केन्द्रमा छ ।”

यसबिच, एसियाली बजारमा भने कमजोरी देखिएको छ । कृत्रिम बुद्धिमत्तामा (एआई) लगानीबारे प्रश्न उठेपछि धातु बजार बलियो रहे पनि इक्विटी बजारमा गिरावट आएको छ । एनभिडिया ४० खर्ब डलर मूल्याङ्कनमा शीर्ष स्थानमा रहे पनि ओरेकलको क्लाउड कम्प्युटिङ नाफा अपेक्षाभन्दा कमजोर रहँदा विश्व बजारमा असर पर्‍याे ।

एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भन्नुभयो, “पूर्णताका लागि मूल्याङ्कन भएको बजारमा नगद प्रवाहमा सानो ढिलाइ पनि ‘अन्तिम कल’ जस्तै लाग्छ । व्यापारीले स्पष्टीकरणको प्रतिक्षा गरेनन्, उनीहरूले आफ्नो स्थिति घटाउन थाले । ओरेकलको परिणामले पार्टी समाप्त गरेन, तर निश्चितरूपमा मौन बनायो ।”

एसियाली बजारमा टेक कम्पनीहरूमा बिक्री बढ्यो । हङकङमा अलीबाबा र जेडीडटकम, ताइपेईमा टिएसएमसी र टोकियोमा रेनेसास तीव्र रूपमा घटे । हङकङ र ताइपेई बजार सबैभन्दा बढी प्रभावित भए भने सिड्नी, मुम्बई र सिङ्गापुरमा पनि गिरावट देखियो ।

टोकियोमा सत्तारूढ पार्टीको नेतामा व्यापार-मैत्री रूढीवादी साने ताकाइचीको विजयसँगै उकालो गएको बजार बुधबार केही कमजोर भयो । लगानीकर्ता थप मौद्रिक सहजता र प्रोत्साहन योजनाको प्रतीक्षा गरिरहेका छन् । यसैबिच, लन्डन, पेरिस र फ्रेङ्कफर्टमा बजार स्थिर देखिए भने वेलिङ्टन, मनिला, बैंकक र जकार्तामा सन्तुलित कारोबार भइरहेको थियो । रासस/एएफपी