जनार्जन खत्री
सर्लाही, असोज २२ गते । प्रहरीलाई कुटपिट गरेको र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।
४० वर्षीय वडाध्यक्ष दासलाई मङ्गलबार सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताउनुभयो । वडाध्यक्ष दासको नेतृत्वमा असोज १७ गते साँझ प्रहरी चौकी गोडैतामा ढुङ्गामुढा गरेको र प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको छ ।
आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सई) अवधेशप्रसाद यादवको अगाडिको दुई वटा दाँत भाँचिएको डिएसपी राईले बताउनुभयो । उहाँका अनुसार प्रहरी चौकीमा कार्यरत अन्य पाँच जना कर्मचारीसमेत घाइते भएका छन् ।
प्रहरी चौकीमा ढुङ्गामुढा र बाँसको भाठा प्रहार हुँदा तीन वटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले दाबी गरेको छ । दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा गोडैता नगरपालिका–७, मा स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५ बस्ने अनिलराय यादवलगायतले कुटपिट गरेको विषयलाई लिएर कारिल यादव पक्षका वडाध्यक्ष दाससहितले प्रहरी चौकीमा आएर आक्रमण गरेको आरोप लागेको छ ।
कारिल यादवलाई कुटपीट गर्ने ठेकेदारसमेत रहेका अनिलराय यादव प्रहरीको नियन्त्रणमा रहेका छन् । कारिल यादव कुटिएको विषयमा प्रहरी चौकीमा छलफल भएको छ ।
प्रहरीले वडाध्यक्ष विनेशकुमार दासलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखेको छ । उहाँलाई कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा बुधबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको डिएसपी राईले बताउनुभयो ।
वडाध्यक्ष दासलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार बिहानैदेखि गोडैता बजार बन्द गराइएको छ । गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले वडाध्यक्ष दासलाई राजनीतिक पूवाग्रह राखेर पक्राउ गरिएको बताउनुभएको छ ।