• २२ असोज २०८२, बुधबार

जापानमा भालुको आक्रमणबाट एकको मृत्यु, दुई जना घाइते

blog

टोकियो, असोज २२ गते । जापानको सुपरमार्केटको गल्लीमा घुमिरहेको एक उत्तेजित भालुको आक्रमणका कारण दुई जना मानिस घाइते भएको तथा छुट्टै आक्रमणमा अर्का एक व्यक्ति मृत फेला परेको अधिकारीका साथै मिडिया रिपोर्टले बुधबार जनाएका छन् ।  

पछिल्लो समयमा जापानका आवासीय क्षेत्रमा पनि घट्दो मानव जनसङ्ख्या र जलवायु परिवर्तन जस्ता कारकका कारण अत्यधिक जङ्गली भालु देखिएका छन् । सार्वजनिक प्रसारणकर्ता एन. एच. के. ले प्रहरीलार्ई उद्धृत गर्दै अर्को छुट्टै भालु आक्रमणमा परी उत्तरी इवाटे क्षेत्रको पहाडमा बुधबार एक जना मानिस मृत फेला परेको जनाएको हो ।

सुपरमार्केट पहाडी क्षेत्रको नजिक भए तापनि यस अघि कहिल्यै भालु यसरी मानिस नजिक नआएको किराना पसल सङ्घका व्यवस्थापन योजना अधिकारी हिरोशी होरिकावालाई उद्धृत गर्दै एएफपीले जनाएको छ । भालु पसलको मुख्य प्रवेशद्वारबाट भित्र प्रवेश गरी लगभग चार मिनेटभित्रै आक्रमण गरेको उहाँले जनाउनुभएको छ ।  

पसलका सञ्चालकले स्थानीय मिडियालाई बताएअनुसार त्यस समयमा करिब ३० देखि ४० जना ग्राहक भित्र भएका कारण बाहिर निस्कन गाह्रो भएकाले भालु धेरै आक्रोशित भएको थियो । वातावरण मन्त्रालयका अनुसार जापानमा अप्रिल र सेप्टेम्बरको बिचमा राष्ट्रव्यापीरुपमा १०८ जना मानिस भालुको आक्रमणका कारण घाइते भएका थिए भने पाँच जनाको मृत्यु भएको थियो ।

मङ्गलबार पनि, इवाटे क्षेत्रका एक किसानलाई उहाँकै घरबाहिर एउटा बच्चासहित भालुले आक्रमण गरेको जनाइएको छ । मध्य जापानको सुन्दर शिराकावा–गो गाउँको बस स्टपमा आइतबार एक स्पेनी पर्यटकलाई भालुले आक्रमण गरेको थियो । रासस/एएफपी