• २२ असोज २०८२, बुधबार

मेची राजमार्गको माइखोलामा सडक खोल्न सुरु

blog

मेची राजमार्ग अन्तर्गत माइखोलामाथि पहिरो गएको सडक खण्डलाई सुुचारु गर्न काम सुरु । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असोज २२ गते । गएको असोज १८ गते रातीको वर्षापछि पहिरो जाँदा अवरुद्ध भएको मेची राजमार्ग अन्तर्गत इलामको माइखोला माथिको सडक सुुचारु गराउन अहिले सडक डिभिजन कार्यालय इलामले काम सुरु गरेको छ । 

डिभिजन कार्यालयका प्रमुखसहित इन्जिनियरहरुको टोली अहिले माइखोलामै छन् । माथिबाट पुनः पहिरो खस्छ कि भन्ने त्रासका बीच पनि कार्यालयले स्काभेटर सञ्चालन गरेको छ । ‘आज नै खुलाउन सकिन्छ भन्ने अवस्था छैन । तर क्रमशः हामी सडक खुलाउने प्रयास गरिरहेका छौं,’ सडक डिभिजन कार्यालय प्रमुख पवन भट्टराईले भन्नुुभयो ‘अहिले झापा सिमाना जोरकलशदेखि माइखोलासम्म दोहोरो रुपमा यातायात सञ्चालन छ । इलाम बजारदेखि पुवा खोलासम्म पनि सडक खुल्ला छ । पुवा खोलामाथि साँखेजुुङतर्फ दुुई स्थानमा पनि अहिले सडक खुलाउन मेशिन सञ्चालन गरिएको छ ।’

राजमार्गको राजदुवालीस्थित माइखोलामाथि पहिरो खरेपछि यो क्षेत्रमा भने यात्रुुहरु पैदल नै हिंडिरहेका छन् । इलाम सदरमुकामतर्फ आउने यात्रुुहरु माइखोलादेखि पहिरो खसेको क्षेत्रलाई पैदल पार गरेर पहिरोभन्दा माथिको भागबाट अर्को सवारीमा यात्रा गरिरहेका छन् । यस्तै इलाम सदरमुकामबाट झापातर्फ जाने यात्रुहरु पनि पहिरो माथिसम्म एउटा सवारी र माइखोला पारिबाट अर्को सवारीमा यात्रा गरिरहेका छन् ।