प्रवीण कुमार शर्मा
रौतहट, असोज २२ गते । रौतहटको गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत पर्ने सवगढा लचकामा यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको छ । पानीको बहाव धेरै रहेकोले बस अनियन्त्रित भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । दुर्घटनाबाट कुनै मानविय क्षति नभएको उहाँले बताउनुभयो ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेका ना. ४ ख. ५३१८ नं.को यात्रुबाहक बस गौर नगरपालिका–६, सवगढा लचकामा बुधबार बिहान अनियन्त्रित भई खाल्टोमा कोल्टिएको थियो ।
दुर्घटनापछि स्थानीय बासिन्दाले तत्कालै उद्धार गरी सबै यात्रुहरूलाई सकुशल बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बसमा ३५ जना यात्रु सवार थिए।