कोकिला ढकाल
इलाम, असोज २२ गते । मेची राजमार्ग अन्तर्गत इलामको माईखोलामा पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरूका लागि हेल्थ डेक्स स्थापना गरिएको छ । झापाबाट इलाम हुँदै पाँचथर ताप्लेजुङसम्म आउ–जाउ गर्ने यात्रुहरूका लागि हेल्थ डेक्स राखिएको हो ।
माईखोलादेखि माथि करिब एक किलोमिटर पैदल यात्रा गर्दा मात्र यात्रुुहरूले सवारी साधन भेट्ने अवस्था छ । यस्तै झापातर्फ हिँडेका यात्रुुले पनि सोही बाटो र दूरी पार गरेर माईखोला राजदुवालीबाट झापातर्फको यात्रा तय गरिरहेका छन् । बिचमा पैदल हिँडिरहेका यात्रुहरूलाई स्वास्थ्य समस्या हुनसक्छ भनेर इलाम नगरपालिकाले हेल्थ डेक्स राखेको नगर प्रमुख केदार थापाले बताउनुभयो ।
डेक्समा रक्तचाप जाँच, बिरामी भएर उपचारका लागि झापातर्फ जाने बिरामीको स्वास्थ्य जाँच, सामान्य बिरामी परेकालाई औषधी र पानीको व्यवस्था गरिएको छ ।