• २२ असोज २०८२, बुधबार

बुलिङ्टारमा खानेपानीको धारा आएपछि स्थानीय खुशी

blog

चम्घा दद्राली खानेपानी आयोजना । तस्बिर : होमराज रानाभाट

होमराज रानाभाट 

बुलिङ्टार, असोज २२ गते । पूर्वी नवलपरासीको पहाडी बुलिङ्टार गाउँपालिका वडा ३ का कुमाल र दराई जातिका बासिन्दाले जीवनमा पहिलो पटक धाराको खानेपानी पिउन पाएका छन् र अहिले उनीहरु खुशी भएका छन् । 

बुलिङ्टार गाउँपालिका वडा ३ चम्घा, दद्राली खानेपानी निर्माणका लागि गण्डकी प्रदेश सरकारले करिब एक करोड उपलब्ध गराएपछि २०७८ सालबाट सुरु भएको खानेपानी आयोजना चार वर्षपछि सकिएसँगै यहाँका एक सय तीन घर परिवारका एक हजार सात सयभन्दा बढीले प्रत्यक्ष रुपमा खानेपानी पाएका उपभोक्ता समितिका सचिव टेकनाथ दराईले बताउनुभयो । 

खग्रेनी खोलाको मूल पानीबाट रिजर्भ ट्याँकी बनाई लिफटिङ् गरी एक लाख लिटरको ट्याङ्की बनाएर घरघरमा धारा निर्माण गरेर योजना सम्पन्न भएपछि त्यहाँका स्थानीयले पानी खान पाएका र खुशीयाली छाएको बुुलिङ्टार गाउँपालिका ३ का उपभोक्ता बेलबहादुर दराईले बताउनुभयो । एक सय तीन घरधुरीलाई उपलब्ध भएको खानेपानीको घरघरमा धारा र मिटर जोडेर खानेपानी वितरण गरिएको र अहिलेसम्म कुवाको पानी खान बाध्य यहाँका बासिन्दाले अब भने धाराको पानी घरमै खान पाएपछि आनन्दित भएका उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर कुमालले बताउनुभयो ।

सो आयोजनाका लागि प्रदेश सरकारले सुरुमा पाँच लाख, त्यसपछि रु. ४० लाख र पछि विभिन्न सालमा गरी रु. एक करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना सम्पन्न भएर अहिले घरघरमा धारा आएपछि वर्षौंदेखि डोकोमा पँधेराको खानेपानी बोकेर हिंड्ने समय अब भने सकिएको स्थानीय ६८ वर्षीया सुकमायाँ कुुमालले खुशी हुँदै भन्नुभयो । मर्ने बेलामा भए पनि धाराको पानी खाएर जीवन जाने भयो त्यही पनि खुशी छौँ, स्थानीय दराई महिला समूहका महिलाहरुले खुशीका साथ भन्नुभयो । 

आर्थिक वर्ष २०८१।८२ को बजेटबाट पम्प खरिद, जाली लगाउने, पेन्ट र धारा फिटिङ् गर्ने, खानेपानी धाराको मुहान बनाउने गरी काम सम्पन्न भएपछि अहिले घरघरमा खानेपानी आएपछि सबैको आँखामा खुशीको आँसु बर्सिएको स्थानीय मुुक्तबहादुर दराईले बताउनुभयो । 

बुलिङ्टार गाउँपालिका वडा ३ मा सबैभन्दा जटिल अवस्थामा रहेको खानेपानी समस्या अहिले भने यहाँबाट समाधान हुँदै अघि बढिरहेको र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि बुलिङ्टार गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँग मिलेर काम अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी मगरले बताउनुभयो ।

स्थानीयलाई खानेपानी पुर्‍याउने उद्देश्यले गण्डकी प्रदेश सरकारको सहयोगमा सम्पन्न यो आयोजनाका लागि स्थानीयले पाँच लाख ६० हजार बराबरको श्रमदान गरेका उपभोक्ता समिचिका सचिव टेकनाथ दराईले बताउनुभयो । सो आयोजनाको निर्माण सकिएर घरघरमा खानेपानी पुगेपछि खानेपानीको समस्या भने अब सकिएको आयोजनाका सल्लाहकार बेलबहादुर दराईले बताउनुभयो ।

एक लाख लिटर क्षमताको ३२ मिटर अग्लो खानेपानी टङ्याकी, गार्ड हाउस, बोरिङकाे मोटर खरिद तथा फिटिङकाे काम सकेर आयोजना सम्पन्न गरिएको सचिव दराईले  बताउनुभयो । स्थानीय बासिन्दाले आफैँ काम गरेर आयोजना सम्पन्न गरेका र अन्यत्रबाट पनि यो कार्यको प्रशंसा भएको बुुलिङ्टार ३ का वडाध्यक्ष विष्णुुवीर जर्घा मगरले बताउनुभयो ।